अत्तरिया : कैलालीको चिसापानीदेखि राजकाँडासम्म निर्माण भइरहेको जालपादेवी केबलकार एक महिनाभित्र व्यावसायिक सञ्चालनमा ल्याउने तयारी गरिएको छ । आइएमई ग्रुपले निर्माण गरिरहेको केबलकारको भौतिक संरचनाको काम सम्पन्न भइसकेको र अहिले प्राविधिक परीक्षण भइरहेको जनाएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष एवं आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले एक महिनाभित्रै केबलकार सञ्चालनमा ल्याउने गरी तयारी भइरहेको जानकारी दिएका छन् । उनका अनुसार तिहारदेखि सञ्चालनमा ल्याउने लक्ष्य राखिए पनि विभिन्न कारणले निर्माणमा ढिलाइ भएको हो । ‘केबलकारको सम्पूर्ण भौतिक संरचनाको काम सकिएको छ,’ ढकालले भने, ‘अहिले प्राविधिक चेकजाँच भइरहेको छ । एक महिनाभित्र सर्वसाधारणका लागि खुला गर्ने गरी काम भइरहेको छ ।’
कर्णाली पुलनजिकैबाट सुरु हुने केबलकार यात्राका क्रममा कर्णाली नदी, जालपादेवी मन्दिर, कालभैरव, कालिकादेवी, कैलाश धाम र हात्तीढुंगालगायतका धार्मिक तथा पर्यटकीय स्थल अवलोकन गर्न सकिनेछ । समुद्री सतहबाट करिब एक हजार दुई सय मिटर उचाइमा रहेको राजकाँडाबाट तराईका फाँटसँगै अपि, साइपाल, काञ्जिरोवा र ओमपर्वतलगायत हिमशृंखलाको दृश्यावलोकन गर्न सकिने कम्पनीको भनाइ छ ।
कम्पनीले केबलकारलाई केवल यातायातको माध्यममा सीमित नराखी एकीकृत पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने योजना बनाएको छ । त्यसका लागि चिसापानीमा ५० शय्या र राजकाँडामा एक सय शय्या क्षमताका होटल तथा सभाहल निर्माण गर्ने योजना छ । यसका साथै स्तरीय होटल, रिसोर्ट, रेस्टुरेन्ट, चिल्ड्रेन पार्क, पदमार्ग र अन्य पर्यटकीय संरचना निर्माण गर्ने लक्ष्य राखिएको छ ।
केबलकार सञ्चालनसँगै चिसापानी र राजकाँडा क्षेत्रमा पर्यटकको बसाइ लम्बिने, स्थानीय उत्पादनले बजार पाउने र रोजगारीका अवसर सिर्जना हुने अपेक्षा गरिएको छ । केबलकारबाट हुने कुल आम्दानीको दुई प्रतिशत स्थानीय सरकारलाई उपलब्ध गराउने पनि कम्पनीले जनाएको छ ।
आयोजनामा कैलालीका उद्यमी सूर्यबहादुर थापासहित स्थानीय व्यवसायीको समेत साझेदारी रहेको छ । अध्यक्ष ढकालले आयोजना निर्माणमा स्थानीय बासिन्दा, स्थानीय तथा प्रदेश सरकार, संघीय सरकार, सरोकारवाला निकाय र निर्माण टोलीको सहयोगप्रति आभार व्यक्त गरेका छन् । उनले केबलकार सञ्चालनमा आएपछि यसले सुदूरपश्चिमको पर्यटन विकाससँगै स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउन महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गरेका छन् ।