काठमाडौं : प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह र उनका भारतीय समकक्षी नरेन्द्र मोदीले महाकाली नदीमाथि बनेको १ सय १० मिटर लम्बाइको मोटरेबल पुल संयुक्तरूपमा उद्घाटन गरेका छन् ।
यो पुल दार्चुला महाकाली नगरपालिका ८ असिगडा र भारतको उत्तराखण्ड राज्यस्थित धारचुला तहसिलको छारछुम जोड्ने गरी बनाइएको छ । स्थानीय स्तरमा यो पुललाई सजाएर राखिएको छ ।
यो पुल निर्माणका सबै लागत भारत सरकारले बेहोरेको छ । तत्कालीन उद्योगमन्त्री दिलेन्द्रप्रसाद बडू र भारतको उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले ३ असोज २०८० मा पुल शिलान्यास गरेका थिए । यो पुल भारतीय निर्माण कम्पनी पीएन्डआर इन्फ्राप्रोजेक्ट लिमिटेड पन्जाबले ३२ करोड ९८ लाख भारुमा बनाएको हो ।
यस मोटरेबल पुलले दुवै देशलाई जोड्ने छ । त्यससँगै दुवै मुलुकले पुलसँगै नेपाल प्रहरी, सशस्त्र प्रहरी र भन्सार कार्यालय स्थापना गरी सञ्चालनको तयारी गरिएको छ ।
दार्चुला र यस आसपास पहाडी भेगलाई भारतसँग सिधा जोड्न यो संरचना महत्त्वपूर्ण हुनेछ । यो संरचनाले नेपाल र भारतको पर्यटन, अर्थतन्त्र तथा नागरिक स्तरको सम्बन्ध अझ बलियो बनाउने विश्वास दुवै मुलुकले लिएका छन् ।