अत्तरिया : सुदूरपश्चिम प्रदेश सरकारको बजेटमाथि देखिएको विवाद र असन्तुष्टि समाधान हुन नसक्दा प्रदेशमा राजनीतिक अन्योल बढ्दै गएको छ ।
पूरक बजेट ल्याउने सहमतिपछि प्रदेश सभाबाट बजेट पारित भए पनि लामो समय बितिसक्दा संसदीय अध्ययन समिति गठन हुन सकेको छैन । बजेट पारित गर्नुअघि भएको सहमति कार्यान्वयनमा ढिलाइ भएपछि सरकारको प्रतिबद्धतामाथि नै प्रश्न उठ्न थालेको छ ।
बजेट लामो समयसम्म पारित हुन नसक्दा दसैँ–तिहारको मुखमा प्रदेश सरकारका कर्मचारीले तलबसमेत नपाउने अवस्था सिर्जना भएको थियो । त्यसपछि सरकारले बजेटका कमी–कमजोरी अध्ययन गरी आवश्यक सुधारसहित पूरक बजेट ल्याउने सहमति गरेको थियो । सोही सहमतिपछि बजेट पारित भए पनि त्यसप्रति सत्तापक्ष र प्रतिपक्ष दुवैका सांसदहरूको असन्तुष्टि अझै कायमै छ ।
बजेटका कमजोरी अध्ययन गर्न संसदीय समिति गठन गर्ने सहमति भए पनि त्यसको प्रक्रिया अघि बढ्न सकेको छैन । सत्ता साझेदार दल नेपाली कम्युनिस्ट पार्टी र नेकपा एमालेले समितिका लागि आफ्ना सदस्यहरूको नाम गत कात्तिक १२ गते नै पठाइसकेका थिए । तर, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सदस्यहरूको नाम उपलब्ध नगराउँदा समिति गठनमा ढिलाइ भएको सरकारका भौतिक पूर्वाधार विकासमन्त्री ओम विक्रम भाटले बताएका छन् ।
मन्त्री भाटले सरकार आफ्नो प्रतिबद्धताबाट पछि नहटेको दाबी गर्दै समिति गठन हुन नसक्नुको मुख्य कारण कांग्रेसले सदस्यको नाम नपठाउनु रहेको बताए ।
सभामुख भीमबहादुर भण्डारीले भने संसदीय समिति गठनका विषयमा राजनीतिक दलहरूबीच अनौपचारिक छलफल भइरहेको जानकारी दिएका छन् । बजेट कार्यान्वयनमा गइसकेकाले तत्काल ठूलो समस्या नरहे पनि पूरक बजेट ल्याउने सर्तमा बजेट पारित गरिएको विषयलाई गम्भीर रूपमा लिनुपर्ने उनको भनाइ छ ।
तर, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसदीय समिति गठन र पूरक बजेट ल्याउने सहमतिभन्दा पनि बजेट पारित गर्दाको प्रक्रियामाथि नै प्रश्न उठाएको छ ।
कांग्रेस संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री कमलबहादुर शाहले अर्थमन्त्रीले प्रस्तुत गरेको बजेटप्रति सत्तापक्षकै सांसदहरू असन्तुष्ट हुनु, संसद्मा पर्याप्त छलफल हुन नसक्नु र सांसदहरूलाई भ्रममा पारेर बजेट पारित गरिनु सरकारको गम्भीर कमजोरी भएको टिप्पणी गरेका छन् ।
सभामुखले समेत बजेटका विषयमा अध्ययन तथा छानबिन समिति गठन गर्नुपर्ने आवश्यकता स्वीकार गरिसकेको अवस्थामा बजेटका कमजोरी थाहा हुँदाहुँदै पनि तत्काल सुधार गर्न नसक्नु सरकारको कमजोरी भएको शाहको भनाइ छ ।
उनका अनुसार कांग्रेसको मुख्य असहमति बजेटका विषयमा मात्र नभई गलत भनिएको बजेट कुन प्रक्रिया र आधारमा पारित गरियो भन्ने विषयमा केन्द्रित छ । बजेटमाथिको छलफल लोकतान्त्रिक प्रक्रियाअनुसार अघि नबढाइएको भन्दै प्रतिपक्षी दलहरूले सदन बहिष्कार गरेको अवस्थामा समेत सरकारले एकलौटी रूपमा बजेट पारित गरेको उनले आरोप लगाए ।
शाहले कांग्रेस पूरक बजेट ल्याउने वा संसदीय छानबिन समिति गठन गर्ने विषयमा सहमत नरहेको स्पष्ट पारे । वर्तमान सरकारको नेतृत्वमा सुदूरपश्चिम प्रदेश अघि बढ्न नसक्ने दाबी गर्दै उनले नैतिकताका आधारमा सरकारमा सहभागी सबैले राजीनामा दिनुपर्ने बताए ।
यद्यपि, कांग्रेसको उद्देश्य वर्तमान सरकारमा सहभागी हुनु नरहेको पनि उनले स्पष्ट पारेका छन् ।