धनगढी : सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा महिलाको श्रम, ज्ञान, नेतृत्व र दैनिक जीवनका संघर्ष तथा सफलताका कथा समेटिएको चार दिने विशेष कला प्रदर्शनी तथा हाट बजार आयोजना हुने भएको छ ।
सृजनालयको मुख्य आयोजना, दलित महिला संघ र ताराजु नेपालसँगको सहकार्य तथा संयुक्त राष्ट्रसंघीय महिला निकायको सहयोगमा सञ्चालित ‘हाम्रो सामूहिक पहलः कथावाचन अभियान’ अन्तर्गत उक्त प्रदर्शनी हुन लागेको बुधबार धनगढीमा पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो ।
धनगढीस्थित होटल डिभोटी प्राइभेट लिमिटेडमा यहि बिहिबार मंसिर १० देखि १३ गतेसम्म सञ्चालन हुने यस घुम्ती प्रदर्शनीलाई ‘उनी नदीसरीः महिला र परिवर्तनका कथाहरू’ नाम दिइएको छ ।
प्रदर्शनीले सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, मधेश र बागमती प्रदेशका सीमान्तकृत समुदायका महिलाहरूको जीवनभोगाइ र योगदानलाई उजागर गर्ने उद्देश्य राखेको छ ।
यस परियोजनाअन्तर्गत अधिकांश महिलासहित १४ जना कलाकारहरूको टोलीले सुदूरपश्चिमको डोटी र कैलाली, कर्णालीको कालिकोट, लुम्बिनीको कपिलवस्तु, मधेशको सर्लाही र बागमतीको सिन्धुली जिल्लाको स्थलगत भ्रमण गरेको थियो । भ्रमणका क्रममा कलाकारहरूले स्थानीय महिला, किशोरी, लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदाय र सीमान्तकृत वर्गका व्यक्तिहरूसँग प्रत्यक्ष संवाद गरी उनीहरूका वास्तविक अनुभव सुनेका थिए ।
ऐतिहासिक रूपमा राज्य र समाजको मूलधारबाट बाहिर पारिएका दलित, आदिवासी जनजाति, मधेशी र मुस्लिम महिलाहरूका जीवन्त सपना, साहस र दृढतालाई यस प्रदर्शनीले केन्द्रमा राखेको छ । कलाकारहरूले हातेसिलाई, वनस्पति तथा बोटबिरुवाका रेशाबाट गरिने बुनाइ, परम्परागत गायन, भित्तेचित्र, गोदना, बुट्टेदार कागज उत्पादन र मौखिक कथावाचनजस्ता स्थानीय एवं घरेलु सीपबाट प्रेरणा लिएर आफ्ना सिर्जना तयार पारेका छन् । ती कलाकृतिमार्फत बालविवाह, जातीय भेदभाव, लैङ्गिक हिंसा र समाजमा व्याप्त अन्य कुरीतिविरुद्धका आवाजलाई सशक्त रूपमा उठाइएको छ ।
प्रसिद्ध कला समीक्षक एवं क्युरेटर सञ्जीव महर्जनद्वारा संयोजन गरिएको यस प्रदर्शनीमा अन्यायविरुद्ध डटेर लड्ने बादी महिला, आत्मनिर्णयको बाटो रोज्ने दलित तथा तामाङ महिला र थारू एवं मुसहर समुदायका महिलाहरूका प्रेरणादायी शक्तिका कथाहरू समेटिएका छन् । प्रदर्शनी स्थलमा महिलाहरूका यिनै भोगाइमा आधारित १० वटाभन्दा बढी कलाकृतिहरूका साथै १० वटा अडियो कथाहरू समेत सुन्न सकिने व्यवस्था मिलाइएको छ ।
प्रदर्शनीकै अवसर पारेर मंसिर ११ गते शुक्रवारका दिन विशेष हाट बजारसमेत सञ्चालन गरिने आयोजक सृजनालयकी निर्देशक श्याररे बज्राचार्यले जानकारी दिइन । उक्त हाट बजारमा सर्लाही जिल्लाका महिला उद्यमीहरूद्वारा उत्पादित विभिन्न स्थानीय तथा हस्तकलाका सामग्रीहरू प्रदर्शनी तथा बिक्रीका लागि राखिनेछन् ।
समाजमा महिलाहरूले भोग्दै आएका हानिकारक परम्परागत अभ्यास र विभेदपूर्ण सामाजिक मूल्यमान्यतामा सकारात्मक परिवर्तन ल्याउन आवाज उठाउन उत्प्रेरित गर्ने तथा महिला नेतृत्वप्रतिका पूर्वाग्रहलाई चुनौती दिने लक्ष्यसहित यो अभियान अघि बढाइएको हो । बिहान १० बजेदेखि साँझ ६ बजेसम्म चल्ने उक्त प्रदर्शनीमा सर्वसाधारणका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ भने प्रदर्शनी स्थल पूर्ण रूपमा अपाङ्गता मैत्री बज्राचार्यले जानकारी दिइन ।