थपिए कैलालीमा २३ हजार मतदाता, मतदाताको संख्या ५ लाख नाघ्यो

धनगढी : कैलाली जिल्लामा मतदाताको संख्या ५ लाख २१ हजार नाघेको छ । पुस १८ गतेसम्म कैलाली जिल्लामा ५ लाख, २१ हजार ५ सय ५५ जना मतदाताले मतदाता नामावलीमा नाम दर्ता गरेको सुदूरपश्चिम प्रदेश निर्वाचन कार्यालय धनगढीले जनाएको छ । पछिल्लो पटक जिल्लाका २ ओटा इलाका प्रशासन कार्यालय, जिल्ला प्रशासन कार्यालय र प्रदेश निर्वाचन कार्यालयबाट गएको साउन ४ गतेदेखि तथा जिल्लाका १० वटा स्थानीय तहमा मङ्सिर १७ गतेदेखि पुस १८ गतेसम्म मतदाता नामावली सङ्कलन गरिएको थियो ।

यो अवधिमा पुस १८ गतेसम्मको तथ्याङ्क हेर्दा कैलाली जिल्लामा २३ हजार ४ सय ५६ जना मतदाता थपिएका र योसँगै कैलालीमा मतदाताका सङ्ख्या ५ लाख, २१ हजार ५ सय ५५ पुगेको प्रदेश निर्वाचन कार्यालय धनगढीका प्रमुख प्रेमराज भट्टले जानकारी दिए ।

स्थानीय तहमा मतदाता नामावली दर्ता गर्ने क्रम रोकिए पनि इलाका प्रशासन कार्यालय टीकापुर र सुखड, जिल्ला प्रशासन कार्यालय कैलाली र प्रदेश निर्वाचन कार्यालय धनगढीमा निर्वाचन घोषणा हुँदाको मितिसम्म मतदाता नामावलीमा नाम दर्ता गराउने काम जारी रहने भएकाले छुटेका नागरिकहरूलाई नजिकको पायक पर्ने स्थानमा गई नाम दर्ता गराउन समेत प्रमुख भट्टले आग्रह गरे । मतदाता नामावलीमा नाम दर्ता गराउने काम जारी रहेको निर्वाचन कार्यालय धनगढीले जनाएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.