थारू समुदायमा माघी : गाउँगाउँमा उल्लास
धनगढी : पश्चिम नेपालमा बसोबास गर्ने थारू समुदायले मनाउने प्रमुख चाड माघी सुरु भएको छ। माघे संक्रान्तिको अघिल्लो दिन अर्थात् पुसको अन्तिम दिन आज घर घरमा सुँगुर काट्ने चलन छ। जसलाई ‘जिता मरना दिन’ भनिन्छ।
पुस मसान्तमा घरघरमा सुँगुरको मासु, ढिकरी, माछालगायत परिकार बनाएर जाँडरक्सीको साथ खानपिन गरेर रातभर नाचगानका साथ रमाइलो गर्ने प्रचलन छ। यतिबेला ‘सखियै हो, माघिक पिली गुरी जाँर’ भन्ने गीत सबैको मुखमा झुण्डिएको छ। माघीमा गाइने गीतलाई ुधमार’ भनिन्छ। माघीमा नाचिने विशेष मघौटा नाच अघिपछि पनि लोकप्रिय छ।
कैलाली, कञ्चनपुर, बर्दिया, बाँके, दाङमा बसोबास गर्ने थारु समुदायले माघीलाई मौलिक संस्कृतिले भरिएको सबैभन्दा ठूलो पर्वको रूपमा लिने गर्दछन्। माघी पर्व पहिले खासगरी पश्चिम भेगको थारू गाउँघरमा मात्र सीमित थियो। पहिले राजधानीमा बसोबास गर्ने थारूले माघी महोत्सव आयोजना गर्ने गर्दथे।
पछिल्लो समयमा थारु बाहुल्य क्षेत्रमा माघी मेला महोत्सवका रूपमा मनाउने गरिँदै आएको छ। माघी महोत्सवमा थारू संस्कृति झल्किने परम्परागत हस्तकला प्रदर्शनी, पहिरन, भेषभूषा, थारूहरूको मौलिक खानाको परिकारका साथै सांस्कृतिक झाँकी, नाचगानजस्ता कार्यक्रम प्रस्तुत गर्ने गरिँदै आएको थियो।
कोरोना महामारीका कारण उल्लास नभए पनि संस्कृति जगेर्ना तथा निरन्तरता कायम राख्न भीडभाड नगरेर मनाइने थारु कल्याणकारणी सभा कैलालीका उपसभापति माधव थारुले बताए।
माघीका अवसरमा कैलालीका धार्मिक तीर्थस्थलमा भव्य मेला लाग्ने गर्दथ्यो। माघी लहानसँगै विशेष गरेर थारु समुदायको ठूलो उपस्थिती हुने गर्दथ्यो। माघीको अवसरमा कैलालीको बर्दगोरिया गाउँपालिकामा रहेको बर्दगोरिया मन्दिर, घोडाघोडी नगरपालिकाको कीर्तिपुरमा रहेको बुट्का बाबाको मन्दिर, धनगढी उपमहानगरपालिकामा रहेको बेहेडाबाबा मन्दिर र जाखोर ताल क्षेत्रमा रहेको शिव मन्दिर, कैलारी गाउँपालिकाको बेनौलीमा रहेको अपरम्पार बाबाको मन्दिरमा माघी लहान तथा माघी मेलाको आयोजना हुने गर्दथ्यो। यस वर्ष कोरोना महामारीका कारण माघी लहान तथा माघी मेलाको आयोजना भएको छैन।
गाउँघरमा माघीको अवसरमा औपचारिक कार्यक्रमको आयोजना नहुँदा विगतको वर्षझैं उल्लास नभए पनि कोरोना महामारीका कारण जो जहाँ छन् त्यही बसेर मनाउन लागिएको भजनी नगरपालिका–९, डोंगपुरकी सोना चौधरीले बताइन्। ुमाघी मनाउन धेरैलाई निमन्त्रण दिएकी थिएँ तर कोरोनालाई देखाउँदै धेरैले नआउने खबर पठाउनुभएको छ,ु उनले भनिन्।
थारु समुदायमा माघी पर्वलाई नयाँ वर्षका रूपमा हर्सोल्लासका साथ मनाइन्छ। कोरोना महामारीका कारण उल्लास नभए पनि संस्कृति जगेर्ना तथा निरन्तरता कायम राख्न भीडभाड नगरेर मनाइने थारु कल्याणकारणी सभा कैलालीका उपसभापति माधव थारुले बताए।
माघे संक्रान्तिको दिन बिहान सबै जना नजिकैको खोलानालामा नुहाउन जाने चलन छ। यसलाई ‘माघ लहान’ भन्ने गरिन्छ। नुहाइसकेपछि घरमा आई दाल, चामल, नुन छोएर आफूभन्दा ठूलालाई ढोग गरी आशीर्वाद लिइन्छ। यसलाई सेवाढोग लग्ना भनिन्छ। यो प्रक्रिया घरबाट सुरु भई गाउँभरि नै गएर सेवा सलाम लिनेदिने र खानपिन गर्ने प्रचलन छ।
जति ठूलो गाउँ भए पनि सबै घरमा सेवासलामका लागि पस्नुपर्ने हुन्छ। मन मिल्नेहरू समूहमा आबद्ध भई सेवासलाम लाग्ने गर्दछन्। यसले समुदायमा एकता, मित्रता, आपसी सहयोग, सद्भाव आदानप्रदान गर्ने कार्यमा सहयोगी भूमिका खेल्ने थारु बुद्धिजीवी दिलबहादुर चौधरीले बताए। कसैसँग रिसइबी छ भने माघी नुहाएर, एकआपसमा अंकमाल गरी मेलमिलाप गरिन्छ। त्यसैले माघीलाई सम्बन्ध प्रगाढ बनाउने दिनका रूपमा पनि लिइन्छ।