काठमाण्डौँ : मन्त्रिपरिषद् बैठक सोमबार दिउँसो ३ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्दैछ। निर्वाचन आयोगको प्रस्तावअनुसार आगामी जेठ ४ गते निर्वाचन मिति घोषणा गर्नुपर्ने राजनीतिक दबाबबीच मन्त्रिपरिषद् बस्न लागेको हो। प्रधानमन्त्री शेरबहादुर देउवाकै आग्रह अनुसार निर्वाचन आयोगले यसअघि नै स्थानीय तह निर्वाचन जेठ ४ गते एकै चरणमा गर्नुपर्ने प्रस्ताव गरिसकेको छ।
यस्तोमा गत बिहीबार नै मन्त्रिपरिषद्ले निर्वाचन मिति घोषणा गर्ने अनुमान थियो। तर सत्तारुढ पाँच दलबीच सहमति हुन नसक्दा त्यस दिन मन्त्रिपरिषद् बैठक नै बस्न सकेन।
यस्तो अवस्थामा सोमबार दिउँसो ३ बजे बस्ने मन्त्रिपरिषद् बैठकले जेठ ४ गतेका लागि स्थानीय तह निर्वाचन मिति घोषणा गर्न सक्नेछ। सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आइतवार बालुवाटारमा भएको तीन दलका शीर्ष नेताको बैठकपछि बोल्दै सोमबारको मन्त्रिपरिषद्ले जेठ ४ का लागि स्थानीय तह निर्वाचन घोषणा गर्ने बताएका थिए।
त्यसकै लागि प्रधानमन्त्री शेरबहादुर देउवाले आइतवार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पनि छलफल गरेका थिए। उक्त छलफलमा एमालेले चाँडोभन्दा चाँडो निर्वाचन मिति घोषणा गर्न दबाब दिएको महासचिव शंकर पोखरेलले आइतवारै बालुवाटारमा बताएका थिए।
तीन दलको बैठकपछि आइतवारै प्रधानमन्त्री देउवाले सञ्चारमन्त्री कार्की, कानुनमन्त्री दिलेन्द्र बडू र महान्यायाधिवक्ता खम्मबहादुर खातीसँग पनि छलफल गरिसकेका छन्। जेठ ४ मा निर्वाचन घोषणा गर्दा आउन सक्ने सम्भावित कानुनी जटिलतासहितका विषयमा देउवाले आइतवार छलफल गरिसकेका छन्। २०७४ मा स्थानीय तह निर्वाचन तीन चरणमा भएको थियो। वैशाख ३१, असार १४ र असोज २ मा स्थानीय निर्वाचन भए पनि पहिलो चरणलाई नै सबैको कार्यकाल अन्त्य हुने बिन्दु मानेर जेठ ४ मै नयाँ जनप्रतिनिधि छान्नुपर्ने प्रस्ताव आयोगले गरिसकेको छ।