गोदावरी नगरपालिकामा समाजवादीबाट प्रमुखमा रत्ना कडायत, उपप्रमुखमा सकुन्तालाको दावी

अत्तरिया : गोदावरी नगरपालिकाको उपमेयरमा नेकपा एकीकृत समाजवादीबाट सकुन्तला सोबको नाममा सहमति भएको छ। सोब लामो समयदेखि सामाजिक कार्यमा सक्रिय रहेकी छन्। उनी विभिन्न सामाजिक संघ संस्थामा पनि आबद्ध छिन्। मेयरमा रत्ना कडायतले पनि दाबी गरेकी छन्। हाल उपमेयर रहेकी कडायतले नेकपा एकीकृत समाजवादीका तर्फबाट मेयरमा दाबी गरेकी हुन्।

कडायत २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट विजयी भएकी थिइन्। तर, हाल उनी नेकपा एकीकृत समाजवादीमा छिन्। उनले ५ वर्ष उपमेयर पदमा बसेर काम गरिसकेको र मेयरका लागि तयारीमा रहेको बताएकी छन्।

उनले अहिले टिकटका विषयमा छलफल जारी नै रहेकाले धेरै बोल्न उपयुक्त नहुने प्रतिक्रिया दिएकी छन्। ‘म उपमेयर हुँदा जनतामाझ निकै लोकप्रिय थिएँ। न्यायिक समितिको संयोजक भएर काम गर्दा पीडामा रहेका नगरवासीले न्याय पाउने गरी मेलमिलापको काम गरेकी छु। महिला भएकाले पनि धेरैले मलाई नै टिकट दिनुपर्छ भनिरहनु भएको छ उनले भनिन्।

उनले आफूसँग नगरपालिकालाई कुन मोडमा लैजाने भन्ने खाका रहेको बताएकी छन्। पाँच वर्ष काम गरेर अनुभव बटुलिसकेकाले पनि आफूलाई त्यो मोडलमा काम गर्न सहज हुने उनले दाबी गरेकी छन्। कडायत नेकपा एकीकृत समाजवादी पार्टीको केन्द्रीय परिषद् सदस्य तथा कैलाली जिल्ला उपाध्यक्ष तथा समेत हुन्।

यस्तै नेकपा माओवादी केन्द्रबाट चार जनाले गोदावरीको मेयरका लागि दाबी गरिरहेका छन्। माओवादीबाट उद्धव भट्टराई, मेघराज भट्ट, विक्रम विक र धर्म कुँवरको नाम मेयरको लागि चर्चामा छ। उपमेयरमा भने माओवादी प्रदेश कमिटी सदस्य कमला कैनीले दाबी गरिरहेकी छन्।

मेयरका दाबेदार मेघराज भट्टले गठबन्धनको निर्णय कुरिरहेकाले अहिले नै आफूहरूले आधिकारिक व्यक्तिको टुंगो लगाउन नसकेको बताएका छन्। उनले गठबन्धनका तर्फबाट टिकट पाए सहमतिका आधारमा एक जनालाई मेयरको टिकट दिइने बताएका छन्।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.