‘विश्वविद्यालय सञ्चालनमा अवरोध स्वीकार्य छैन’ : संघर्ष समितिका सचिव कुँवरको सरकार र सरोकारवालालाई आग्रह

धनगढी  : सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनार्थ संघर्ष समितिका सचिव धर्मसिंह कुँवरले विश्वविद्यालय सञ्चालन प्रक्रियामा कुनै पनि प्रकारको अवरोध नगर्न सरकार, सरोकारवाला तथा सम्पूर्ण सुदूरपश्चिमवासीलाई आग्रह गरेका छन् ।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले तीन दशकभन्दा लामो संघर्षपछि आम सुदूरपश्चिमवासीको साझा सपना साकार हुँदै विश्वविद्यालय स्थापना भएको उल्लेख गरे । विश्वविद्यालय स्थापनाका लागि आन्दोलन, खबरदारी र विभिन्न चरणका संघर्षमा साथ दिने सम्पूर्ण सुदूरपश्चिमवासी तथा विश्वविद्यालय सञ्चालनका लागि महत्वपूर्ण निर्णय गर्ने नेपाल सरकारप्रति उनले आभार व्यक्त गरेका छन् ।

कुँवरले आफूले संघर्ष समितिको सचिवका रूपमा विभिन्न आन्दोलनको नेतृत्व गरेको स्मरण गर्दै साझा उद्देश्यका लागि सबै पक्ष एकजुट भएकै कारण विश्वविद्यालय स्थापना सम्भव भएको बताए । तर, अहिले विभिन्न बहानामा विश्वविद्यालय सञ्चालन प्रक्रियालाई अवरुद्ध गर्ने प्रयास भइरहेको भन्दै उनले त्यसप्रति गम्भीर चिन्ता व्यक्त गरे ।

डा. गोविन्द केसीले विश्वविद्यालयसम्बन्धी माग राख्दै अनशन सुरु गरेको सन्दर्भमा संघर्ष समितिले साउन ७ गते सार्वजनिक गरेका केही अभिव्यक्तिप्रति असहमति जनाएको उल्लेख गर्दै उनले समितिको उद्देश्य विश्वविद्यालय सञ्चालन प्रक्रिया रोक्नु नभई सहज रूपमा अघि बढाउनु रहेको स्पष्ट पारे । सामाजिक सञ्जालमा समितिको आलोचना भए पनि त्यसले आफूहरूलाई विचलित नपारेको उनको भनाइ छ ।

कुँवरले विश्वविद्यालय ऐन, २०८२ अनुसार खुला प्रतिस्पर्धाबाट नियुक्त भएका पदाधिकारीलाई सरकारले किन बर्खास्त ग-यो भन्ने प्रश्न उठाउँदै त्यसबेला डा. गोविन्द केसीलगायत सम्बन्धित पक्ष किन मौन बसे भन्ने जिज्ञासा व्यक्त गरे। पदाधिकारी हटाइएपछि यसै शैक्षिक सत्रबाट शिक्षण अस्पताल सञ्चालन तथा एमबीबीएससहितका शैक्षिक कार्यक्रम सुरु हुने सुनिश्चितता कसले गर्ने भन्ने प्रश्न पनि उनले उठाएका छन् ।

उनले विश्वविद्यालय ऐनअनुसारको कानुनी व्यवस्था सबैले बुझ्नुपर्ने आवश्यकता औँल्याउँदै विश्वविद्यालय सञ्चालनमा अवरोध सिर्जना गर्ने प्रवृत्तिविरुद्ध फेरि एकपटक सम्पूर्ण सुदूरपश्चिमवासी एकजुट हुनुपर्ने बताए ।

अन्त्यमा उनले विश्वविद्यालय सञ्चालन सुनिश्चित गर्न सबै सुदूरपश्चिमवासीलाई एक ठाउँमा उभिन, आफ्नो धारणा स्पष्ट रूपमा राख्न तथा आवश्यक परे सरकारलाई कडा खबरदारी गर्नसमेत आह्वान गरेका छन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.