लम्की अस्पताल विवादबारे प्रश्न उठेपछि सांसद केपी खनाल आक्रोशित भएपछि…

धनगढी  : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा सदस्य केपी खनालले कैलालीको लम्की प्रादेशिक अस्पताल व्यवस्थापन समितिका सदस्य धीरेन्द्र थापालाई सार्वजनिक कार्यक्रममै धम्की दिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ।

आइतबार लम्कीमा प्रादेशिक अस्पताल सञ्चालनसम्बन्धी विवाद समाधानका लागि आयोजित छलफलका क्रममा सदस्य थापाले सांसद खनाललाई, ‘लम्कीका मेयरलाई पक्राउ गर्न खोज्दा तपाईंले रोक्नुभएको हो भन्ने चर्चा छ, त्यसबारे के भन्नुहुन्छ ?’ भन्दै प्रश्न गरेका थिए।

प्रश्नको जवाफ दिने क्रममा सांसद खनाल आक्रोशित हुँदै भने, ‘कसले भन्यो ? प्रमाण छ ? हाल्छु अहिले, जान्छु। समात्यो भने थाहा हुन्छ। यस्ता मान्छेलाई सदस्यमा राख्नुभएको छ। अनधिकृत रूपमा बोल्न मिल्छ ?’ उनको उक्त अभिव्यक्ति समेटिएको भिडियो अहिले सामाजिक सञ्जालमा व्यापक रूपमा फैलिएको छ।

व्यवस्थापन समितिका सदस्य धीरेन्द्र थापाले अस्पताल सञ्चालनको विषयमा प्रदेश सरकार र स्थानीय तहबीच देखिएको विवादबारे जिज्ञासा राख्दा सांसद खनालले आवेगमा आएर धम्कीपूर्ण अभिव्यक्ति दिएको बताए। उनका अनुसार आफूले अस्पताल सञ्चालनमा देखिएको अन्योल समाधानका विषयमा प्रश्न मात्र उठाएका थिए।

उता सांसद खनालका स्वकीय सचिव हेमराज ढकालले भने कार्यक्रमको उद्देश्य प्रादेशिक अस्पताल सञ्चालनसम्बन्धी विवाद समाधानका लागि छलफल गर्नु रहेको बताए। उनका अनुसार सांसद खनालले प्रदेश सरकार र स्थानीय तह एउटै राजनीतिक नेतृत्वको भएकाले आपसी समन्वय गरेर अस्पताल सञ्चालन अघि बढाउन आग्रह गरेका थिए। सोही क्रममा सदस्य थापाले लम्कीका मेयर सुशीला शाहीलाई पक्राउ गर्न खोजिएको घटनामा सांसदले हस्तक्षेप गरेको आरोपसहित प्रश्न उठाएपछि वातावरण तनावपूर्ण बनेको ढकालको भनाइ छ।

कार्यक्रममा सांसद खनालले प्रदेश सरकार र स्थानीय तहले अस्पताल सञ्चालन गर्न नसक्ने अवस्था आए संघीय सरकारले नै लम्की अस्पताल सञ्चालनको जिम्मा लिनुपर्ने धारणा पनि व्यक्त गरेका थिए।

लम्की प्रादेशिक अस्पताल सञ्चालनको अधिकार र व्यवस्थापनलाई लिएर प्रदेश सरकार र स्थानीय तहबीच लामो समयदेखि विवाद रहँदै आएको छ। पछिल्लो घटनाले अस्पतालको व्यवस्थापन विवादसँगै सार्वजनिक पदमा रहेका व्यक्तिको अभिव्यक्ति र आचरणबारे पनि नयाँ बहस सुरु गराएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.