धनगढी उपमहानगरपालिकामा गठबन्धनको निर्णयलाई कार्यान्वयन गरिने
धनगढी,७ वैशाख : नेपाली काँग्रेसको पकड क्षेत्र रहेको धनगढी उपमहानगरपालिकामा सत्ता गठबन्धनको निर्णयलाई कार्यान्वयन गर्ने पक्षमा दलहरु रहेका छन् । केन्द्रमा पाँच दलीय सत्ता गठबन्धन भएपनि कैलालीमा चार दलीय सत्ता गठबन्धनबीच स्थानीय तहमा भागवण्डा भइरहेको हो । केन्द्रीय सत्ता गठबन्धनमा धनगढी उपमहानगरपालिकामा नगर प्रमुख काँग्रेस र उपप्रमुखमा नेकपा माओवादी केन्द्रलाई दिनुपर्ने प्रस्ताव पेश भएको थियो ।
गठबन्धनले सोही अनुसार निर्णय गर्ने तयारी रहेको जनाइएको छ । काँग्रेस धनगढी नगर सभापति यज्ञराज उपाध्यायले केन्द्रीय गठबन्धनको निर्णयलाई कार्यान्वयन गर्ने बताए । उनले गठबन्धनका निर्णय विरुद्ध नगरमा कोही अघि नबढ्ने बताए ।
उपप्रमुख नपाए स्वतन्त्रबाट खडा गर्नुहुन्छ कि भन्ने प्रश्नको प्रतिक्रिया दिँदै उनले भने, ‘गठबन्धनको निर्णय कुनै पनि हालतमा अस्विकार गरिँदैन ।’सत्ता गठबन्धनमै रहेको एकीकृत समाजवादी पार्टीले दुवै पद नपाएपनि विरोध गर्ने संज्ञा भने देखाएको छैन । एकीकृत समाजवादी पार्टीका नेता दीर्घबहादुर सोडारीले भने,‘गठबन्धनका विषयमा अहिले छलफल चलिरहेको छ । हामीले अहिले कुनै पनि निर्णय गरेका छैनौं ।’