मेयरका लागि कांग्रेस बाजुराले पठाएको सिफारिस प्रदेश कमिटीले गर्यो खारेज
बाजुरा : जिल्लाको चारवटा नगर प्रमुखका लागि नेपाली कांग्रेस बाजुराले सिफारिस गरेको पत्र नै खारेज भएको छ । प्रक्रिया नपुर्याएर उम्मेदवार सिफारिस गरेको भन्दै कांग्रेस प्रदेश कार्यसमितिले उक्त पत्र खारेज गरेको हो ।
कांग्रेस विधानअनुसार उम्मेदवार सिफारिस नगरेको भन्दै फेरि पालिकास्तरबाट नै सिफारिस गर्न प्रदेश कमिटीले पत्राचार गरेको छ । पालिकाबाट नगर प्रमुखमा एक महिलासहित तीनजना सिफारिस गर्नुपर्ने विधानमा व्यवस्था छ । तर, बाजुराका चार स्थानीय तहले सिफारिसमा धेरै नाम पठाएको कांग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमितिले जनाएको छ । जिल्ला कार्यसमितिले भने विधानअनुसार नै प्रदेशमा नाम सिफारिस गरेको दाबी गरेको छ ।
पालिकाबाट नै विधानअनुसार एक महिला पर्ने गरी तीनजना मात्र सिफारिस भएर जिल्ला आउनुपर्ने र जिल्लाबाट तीनजना नै प्रदेश सिफारिस गर्नुपर्ने विधानमा छ । कांग्रेस बाजुरा सभापति रामसिंह रावलले मनोमानी सिफारिस गरेको भन्दै देउवा पक्षधर कार्यकर्ताले विरोध जनाएका थिए । प्रदेशबाट पत्राचार भएपछि पुनः पालिकाबाट नाम सिफारिस गर्न लागेको कांग्रेस बाजुराले जनाएको छ ।
त्यस्तै, कांग्रेसले बाजुराको चार नगरपालिकाका लागि नगर उपप्रमुखको नाम प्रदेश कमिटीमा सिफारिस गरेको छ । स्रोतका अनुसार बूढीगंगा नगरपालिकामा पूजा खाती र रिता शाही, त्रिवेणी नगरपालिकामा करिश्मा ऐडी, कमला न्यौपाने तथा गंगा गिरी सिफारिस भएका छन् । बडिमालिका नगरपालिकाका उपप्रमुखका लागि राधिका सिंह, रमा रावल, र धनी थापाको नाम सिफारिस भएको बताइएको छ । बुढीनन्दा नगरपालिकाबाट रिता सिंह र सुनिता गुरुङको कांग्रेस बाजुराले प्रदेशमा सिफारिस गरेको छ । गाउँपालिकाको उम्मेदवारको टुंगो जिल्ला कार्य समितिले नै लगाउने छ ।