स्थानीय तहको निर्वाचन : आज र भोलि मनोनयन

अत्तरिया, ११ बैशाख : निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि आज (आइतवार) र भोलि (सोमबार) उम्मेदवारी मनोनयनको समय छुट्याएको छ । कैलालीका गोदावरीमा निर्वाचन अधिकृत कार्यालयले बारेमा शनिबार छलफल गरेको छ । निर्वाचन अधिकृत को कार्यालयले सर्बदलिय छलफलका क्रममा दलहरुसंग मनोनयनको समय माग गरेका थिए ।
दलहरूले पनि आ आफ्नो अनुकुल को समय दिएका छन् । मनोनयन गर्दा भिडभाड नहोस् भनेर दलहरु संग अलग अलग समय मागिएको सहायक निर्वाचन अधिकृत शिवराज भाटले बताए । मनोनयन दर्ता गर्ने क्रममा आचार संहिता को पुर्ण पालना गर्न निर्वाचन आयोगले अनुरोध समेत गरेको छ । निर्वाचन अधिकृतको कार्यालय र दलहरु बिच भएको मनोनयन गर्ने समय को सहमति भएको छ । सहमति भए अनुसार बिबेकशिल साझा पार्टी बैशाख ११ गते दिउँसो २ बजे, नेपाल लोकतान्त्रिक पार्टी बैशाख ११ गते मध्याह्न १२ बजे, नेकपा ( एमाले) ( बैशाख १२ गते दिउँसो १ बजे, नेपाली काँग्रेस बैशाख १२ गते दिउँसो ३ बजे, नेकपा एकीकृत समाजबादी बैशाख १२ गते दिउँसो २ बजे र नेकपा (माओवादी) (बैशाख १२ गते दिउँसो ४ बजे को समय दिएको छ । राष्ट्रिय जनमोर्चा बैशाख १२ गते मध्यान्ह १२ बजे, राष्ट्रिय प्रजातन्त्र पार्टी बैशाख १२ गते बिहान ११ बजे को समय दिएको छ ।
बिहान १० बजेदेखि साँझ ५ बजेसम्म मनोनयनको समय तय गरेको हो । स्थानीय तह निर्वाचन आउन १९ दिन बाँकी रहँदा शनिवार विभिन्न निर्वाचन आयोगले मनोनयन गर्ने कार्यतालिका सार्वजनिक गरिसकेको छ । सोमवारसम्म दर्ता भएका उम्मेदवारीबारे १३ गते दाबी विरोध वा उजुरी दर्ता गर्ने, १४ र १५ गते जाँचबुझ गर्ने र १७ गते निर्वाचन चिन्ह प्रदान गर्ने समय तोकिएको छ ।
निर्वाचन आयोगले बहालवाला जनप्रतिनिधिलाई उम्मेदवार बन्न राजीनामा गर्नुपर्ने आचारसंहिता जारी गरेपछि कतिपय स्थानीय तहमा जनप्रतिनिधिहरूले राजीनामा दिएका छन् । स्थानीय तह निर्वाचनका लागि गत चैत २५ बाट निर्वाचन आचारसंहिता लागु भएको थियो । आचारसंहिताले निर्वाचन सम्पन्न नहुँदासम्म उम्मेदवार, राजनीतिक दल र सरकारलाई निर्वाचन प्रचारप्रसारमा सरकारी स्रोत साधनको परिचालन गर्न बन्देज गरिएको छ ।
आचारसंहितामा उम्मेदवारहरूले निर्वाचन परिचालनका लागि गर्न सक्ने खर्चको सीमा पनि तोकिएको छ । जसअनुसार सबैभन्दा धेरै महानगरपालिकाका प्रमुख वा उपप्रमुखका उम्मेदवारले ७ लाख ५० हजार रुपैयाँसम्म गर्न खर्च गर्न पाउँछन् । गाउँपालिकाका अध्यक्ष वा उपाध्यक्षका लागि त्यस्तो सीमा ३ लाख ५० हजार रुपैयाँ तोकिएको छ । आचारसंहिता उल्लङ्घन भए निर्वाचन कसुर तथा सजाय ऐन अनुसार एक लाख रुपैयाँसम्म जरिबाना र कसुर अनुसारको कारबाही गर्न सक्ने व्यवस्था रहेको आयोगले जनाएको छ । निर्वाचन आयोगले राजनीतिक दल वा उम्मेदवारको निर्वाचन चिन्ह अङ्कित भेष्ट, टोपी वा झोला बोक्ने कार्यकर्ताहरूलाई समेत कारबाही हुने चेतावनी दिएको छ ।
स्थानीय तह निर्वाचन आउन १९ दिन बाँकी रहँदा निर्वाचन आयोगले आचार संहिताले बन्देज गरेका गतिविधिमा संलग्न उम्मेदवार बाहेकका नागरिकलाई पनि कारबाहीको दायरामा ल्याइने जनाएको छ । निर्वाचन आचार संहिताको दफा ४ ले निर्वाचन चिन्ह अङ्कित पोसाक, स्टिकर वा सामग्री उत्पादन, विक्री वितरण र प्रदर्शन गर्न रोक लगाएको छ । निर्वाचन आयोगले ८७ प्रकारका मतपत्र प्रयोगमा ल्याइने जनाएको छ । हरेक जिल्लामा फरक फरक मतपत्र हुने छन् । आयोगले उम्मेदवारको टुङ्गो लागिसकेपछि मात्रै मतपत्र प्रकाशन गरेर सबै स्थानीय तहमा पठाउन सम्भव नभएको दाबी गर्दै उम्मेदवार नै नभएका चिन्ह समेत मतपत्रमा रहन सक्ने जनाएको छ ।
निर्वाचन सुरक्षाका लागि एक लाख म्यादी प्रहरी भर्ना गरिएको छ । त्यस बाहेक सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीबाट थप एक लाख ६८ हजार जनशक्ति निर्वाचन प्रयोजनका लागि परिचालन हुने बताइएको छ ।
अघिल्लो पटक विसं २०७४ सालमा तीन चरणमा गरिएको स्थानीय तह निर्वाचन यो पटक देशैभरि एकै चरणमा हुन लागेको छ । चुनावका लागि त्यसको अघिल्लो दिनसम्म १८ वर्ष पूरा भएका एक करोड ७७ लाख ३३ हजार ७२३ जना मतदाता रहेका छन् । तीमध्ये ८७ लाख ४१ हजार ५३० जना महिला, ८९ लाख ९२ हजार १० जना पुरुष र १८३ जना अन्य मतदाता रहेको निर्वाचन आयोगले जनाएको छ । मतदानमा सहभागी हुन निर्वाचन आयोगले जारी गरेको मतदाता परिचयपत्र अनिवार्य गरिएको छ । मतदाता नामावलीमा दर्ता भएका नागरिकले निर्वाचनको दुई दिन अघिबाट मतदान केन्द्रहरूमा आफ्नो परिचयपत्र लिन सक्ने आयोगले जनाएको छ ।
निर्वाचन आयोगले जारी गरेको आचारसंहिताको दफा ३६ मा स्थानीय तह वा स्थानीय तहको स्वामित्व वा नियन्त्रणमा रहेको वा स्थानीय तहबाट अनुदानप्राप्त संस्थामा सुविधा प्राप्त गर्ने गरी बहाल रहेको निर्वाचित वा मनोनीत पदाधिकारीले उम्मेदवारको मनोनयन दर्ता गर्नु अगावै पदबाट राजीनामा गर्नुपर्ने प्रावधान छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.