स्थानीय निर्वाचन २०७९ : गोदावरीमा गठबन्धन दलले सुरु गरे संयुक्त प्रचार
अत्तरिया : कैलालीको गोदावरीमा गठबन्धन दलहरुले संयुक्त रुपमा निर्वाचन प्रचार सुरु गरेका छन् । यस अघि एक भएर जान नसकेको गठबन्धन दलहरु सोमबार देखि संयुक्त प्रचार सुरु गरेका हुन् ।
गोदावरीमा गठबन्धनले मेयरमा काँग्रेसका बिरेन्द्र भट्ट र उपमेयरमा एकिकृत समाजबादी की रत्ना कडायतलाई उम्मेदवार बनाएको छ । दुबै पार्टीका उम्मेदवारहरुले नगरपालिकाका बिभिन्न वडाहरुमा संयुक्त प्रचार प्रसार गरिरहेका छन् । कडायत गत निर्वाचनमा एमालेको तर्फबाट उपमेयरमा निर्वाचित भएकी थिईन् । वडामा पुगेका उम्मेदवारहरुले उपमेयरको पक्षमा पनि भोट मागिरहेका छन् ।
मेयर र उप मेयरमा गठबन्धन भए पनि वडामा भने गठबन्धनका दलहरुले आ –आफ्नै उम्मेदवारलाई उठाएका छन् ।
कार्यकर्ताहरुमा उत्साह
गोदावरी काँग्रेसमा गुटको अन्त्य आएपछि नेता कार्यकर्ताहरुमा उत्साह थपिएको छ । यस अघि गोदावरीमा काँग्रेस भित्रको गुटले गर्दा विजयी हुन नसकेको धेरैको धारणा रहेको थियो । यो पटकको निर्वाचनमा काँग्रेस भित्रको सम्पूर्ण नेताहरु एक जुट भएर अगाडि बढेका छन् । गोदावरीमा दुई गुटको अगुवाई गर्दै आएका बिरेन्द्र भट्ट र सुरत कार्कीको संगै हिनेको फोटोलाई सामाजिक सन्जालमा राख्दै कार्यकर्ताहरुले आन्तरिक एकता मजबुत भएको भन्दै खुशी ब्यक्त गरेका छन् ।
एकले अर्कालाई स्थानीय स्तरमा स्विकार गर्न नसक्ने सम्मको स्थितिीबनेको थियो । जसका कारण यँहा दुई गुट सक्रिय रहँदै आएका थिए । बैशाख ३० गते हुने निर्वाचनमा कार्की समुहलाई महत्वपूर्ण फ्याक्टर मानेर भट्ट समुहले सहकार्य गरेको बुझिएको छ । गत स्थानीय निर्वाचनमा दुई नेताको एकता नहुँदा पार्टीले चुनाव हार्नु परेको कांग्रेस भित्र लामो समय चर्चा चलिरहेको छ । केहि महिना अगाडि भएको काँग्रेसको आन्तरिक निर्वाचनमा गोदावरीमा चरम गुट देखिएको छ । अहिले आएर निर्वाचनमा एक भएर देख्दा काँग्रेसको जित भएको धेरै नेता कार्यकर्ताहरुको भनाई रहेको छ ।