अत्तरिया : कैलालीको गोदावरी नगरपालिका अत्तरिया चोकदेखि मोहनपुर एयरपोर्ट ६ लेन सडकको मध्यमागमा विभिन्न प्रजातिका विरुवा रोप्ने कामको सुरुवात भएको छ । प्लानेट ग्रीन नेपाल र एभरेष्ट एकेडेमी अत्तरियाको अगुवाईमा सडकको मध्यभागमा ग्रिनक्लिन अत्तरियाको अवधारण अन्तर्गत वृक्षारोपणको काम भइरहेको हो । विभिन्न प्रजातिका झण्डै ९ सय विरुवा रोपेर संरक्षण गर्ने योजना छ ।
निजी–साझेदारीको आधारमा राज्यले यस्ता कार्यक्रमलाई अगाडि बनाउनुपर्ने भएपनि आफैले सामाजिक उत्तरदायित्व अन्तर्गत वृक्षारोपण गरेर ३ वर्षसम्म संरक्षण गर्ने दायित्व लिएर काम सुरु गरिएको एभरेष्ट एकेडेमीका प्राचार्य स्माइल चौधरीले बताए । ‘मोहनापुल अत्तरिया सडक योजना कार्यलयसँग अनुमति लिएर हरियाली गोदावरी बनाउने योजनाअनुसार रोपिएका विरुवाहरुको पूर्ण संरक्षण हुनेगरी ट्रीगार्डसहित पानीको समेत व्यवस्था गर्न एक जना सहयोगी राख्ने तयारी भइरहेको छ’ उनले भने ।
क्रोटन, घण्टेश्वरी, गुलाफ, सिरोज, धुपी, एक्जारो, कामीनी लगायतका बिरुवा रोपेर पर्यावरण जोगाउने कामको सुरुवात भएको प्लानेट ग्रीन नेपालका अध्यक्ष पुष्करशर्मा जोशीले बताए । ‘वार्षिक लाखौँको संख्यामा वृक्षा रोपण हुँदै आएपनि रोपिएका विरुवाको संरक्षण हुने गरेको छैन। अब गोदावरी नगरपालिकाको संरक्षणमा वृक्षारोपण गरेर पर्यावरण जोगाउने कामको सुरुवात भएको छ’ उनले भने ।
सम्बन्धित पाेस्टहरु