शैल्यशिखर नगरपालिकाले २ वर्षमा किन्यो १४ लाख बढीका मोबाइल, रिचार्जमा एकैवर्ष २ लाख

दार्चुला : शैल्यशिखर नगरपालिकाले २ वर्षमा १४ लाख भन्दा बढी मूल्यका मोबाइल खरिद गरेको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनअनुसार शैल्यशिखर नगरपालिकाले २०७६ र ७७ सालमा १४ लाख भन्दा बढी मूल्यका विभिन्न मोबाइल सेट खरिद गरेको हो ।

नगरपालिकाले वर्ष २०७६ मा विभिन्न मितिमा ५ वटा मोबाइल, तीनवटा पावर बैंक तथा ६ वटा ट्याब खरिद गरेको हो । जसको मूल्य ६ लाख १८ हजार ७ सय १३ रुपैयाँ रहेको महालेखाको प्रतिवेदनमा उल्लेख गरिएको छ । त्यस्तै, महालेखाले ट्याब खरिद गर्दा जिन्सी दाखिला समेत नगरिएको प्रतिवेदनमा उल्लेख गरेको छ । त्यस्तै, महालेखाले निजी कार्यमा प्रयोग हुने सामग्री खरिद गर्न मिल्ने आधार पेश हुनुपर्ने टिप्पणी समेत गरेको छ ।

यता वर्ष २०७७ मा नगरपालिकाले पुनः ८ वटा मोबाइल खरिद गरेको छ । ८ वटा मोबाइलको मूल्य ८ लाख २६ हजार ९४६ रुपैयाँ रहेको प्रतिवेदनमा उल्लेख छ । सो वर्ष पनि २ वटा मोबाइल खरिद गर्दा माग फारम दाखिला नगरिएको र निजी कार्यमा प्रयोग हुने सामग्री खरिद गर्न मिल्ने आधार पेश हुनुपर्ने टिप्पणी मलेपले गरेको छ । यसरी नगरपालिकाले २ वर्षसम्म झण्डै १४ लाख ४५ हजार ६५९ रुपैयाँको मोबाइल तथा ट्याब खरिद गरेको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।

नगरपालिकाले एक वर्षमै झण्डै २ लाखको रिचार्ज समेत खरिद तथा खर्च गरेको प्रतिवेदनमा उल्लेख छ । २०७७ सालमा नगरपालिकाले १ लाख ९८ हजार रुपैयाँ बराबरको रिचार्ज खर्च गरेको हो । त्यस्तै, उक्त खर्चमा पनि महालेखाले निजी कार्यमा प्रयोग हुने सामाग्री खरिदको आधार पेश हुनुपर्ने टिप्पणी गरेको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.