अत्तरिया : बैतडीको पञ्चेश्वर गाउँपालिकाको एम्बुलेन्स महिनौ देखि जिल्ला ट्राफिक कार्यालय धनगढीको परिसरमा थन्किएको छ । दुर्घटनामा परि प्रहरी को नियन्त्रणमा रहेको गाउँपालिकाको एम्बुलेन्स थन्किएको सात महिना बढी भइसक्दा समेत पालिकाले चासो नदिएका कारण थन्किएका हो ।
२०७८ पौष ६ गते पञ्चेश्वर गाउँपालिकाको सुदूरपश्चिम प्रदेश ०१००१ झ ३४५ नम्बरको एम्बुलेन्सले ६ लेन सडक खण्ड अन्तरगत चटकपूरमा से ७ प ५२८७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएपछि एम्बुलेन्स प्रहरीको नियन्त्रणमा छ । एम्बुलेन्सले ठक्कर दिएको मोटरसाइकलको चालक र सवार को उपचार भैसकेको पञ्चेश्वर गाउँपालिका प्रशासकीय अधिकृत कृष्ण बोहराले बताए । उनले भने ‘मोटरसाइकल नया चेसिस लगाएत पाटपूर्जा मगाएर मर्मत गर्नुपर्ने भएकाले ढिलाइ भएको हो ।’
सुदूरपश्चिम प्रदेश सरकारले गाउँपालिकालाई उपलब्ध गराएको एम्बुलेन्स सात महिनादेखि थन्किएको भएपनि त्यसलाई प्रयोगमा ल्याउने बिषयमा प्रयास नै नभएको पाईएको हो । एम्बुलेन्स नहुँदा बिरामीले सास्ती भोग्दा समेत एम्बुलेन्स ल्याउने बिषयमा पालिकाले चासो नदिएको स्थानीयले गुनासो गरेका छन् ।