धनगढी : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले रााष्ट्रिय उत्पादन बढाउनका लागि भएका उद्योगलाई पूर्ण क्षमतामा चलाउने र बन्द रहेका उद्योगलाई सञ्चालनमा ल्याइए मात्रै औद्योगिक उत्पादन बढ्न सक्ने बताएका छन् । शुक्रवार धनगढी विमानस्थलमा पत्रकार सम्मेलनमा मन्त्री बडूले यस्तो बताएका हुन् ।
उनले सञ्चालनमा रहेका उद्योगलाई पूर्ण क्षमतामा चलाउने र बन्द अवस्थामा रहेका उद्योगलाई सञ्चालनमा ल्याइएमा उत्पादन बढ्नुका साथै जनतालाई केही हदसम्म भए पनि रोजगारीको अवस्था सिर्जना गर्नमा मद्दत मिल्ने बताए ।
मन्त्री बडूले सरकारले मात्रै सबै उद्योग चलाउन नसक्ने बताए । मन्त्री बडूले भएका उद्योगलाई पूर्ण क्षमतामा चलाउने र रुग्ण उद्योगलाई सञ्चालनका निमित्त विभिन्न मोडेलमा सञ्चालन गरिने धारणा व्यक्त गरे । समयमै मलको प्रबन्ध गर्नमा केही विलम्ब भएको बताउँदै उनले अहिलेको लागि हामीले बाहिरबाटै ल्याउनुपर्ने भएको हुनाले यसको प्रबन्ध भइरहेको बताए । प्रदेश र संघको निर्वाचनका लागि हिजो मात्रै मन्त्रिपरिषद्बाट निर्वाचनको मिति तोकी सकिएको र त्यसको तयारी नै अहिलेको प्रमुख काम रहेको मन्त्री बडूले बताए ।
विगतको सरकार केपी ओलीको सरकारले संसदको अवधि पुर्णता दिन नचाहेकाले पटक –पटक संसद विघटन गरेकाले संसद र संविधान खतरामा परेपछि संविधानको रक्षाका लागि संसदको रक्षाका लागि यो सरकार बनेको उनले बताए । निर्वाचनको तयारीमा आफूहरु जुटेको उनले बताए ।