कैलाली क्षेत्र नम्बर ५ बाट आरजु देउवा चुनाव लड्ने

अत्तरिया,२५ साउन : आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा कैलाली क्षेत्र नम्बर ५ बाट डा. आरजु राणा देउवाले उम्मेदवारी दिने भएकी छन् । नेपाली काँग्रेसकी केन्द्रीय सदस्य समेत रहेकी राणाले कैलाली क्षेत्र नम्बर ५ बाट उम्मेदवार बन्ने इच्छा व्यक्त गरेको नेपाली काँग्रेसका एक केन्द्रीय सदस्यले बताए ।

नेपाली काँग्रेसकी नेतृ राणा २०७४ सालको प्रतिनिधि सभाको निर्वाचनमा नेकपा एमालेका उम्मेदवार नारद मुनी रानासँग पराजित भएकी थिइन् । तर पाँच वर्षको अवधिमा रानाले क्षेत्र नम्बर ५ को विकासका लागि कुनै पनि काम नगरेको र डा. राणाबाट मात्र क्षेत्र नम्बर ५, कैलाली र समग्र सुदूरपश्चिमको विकास सम्भव भएकोले यस पटक जनताले राणालाई जिताउने ती केन्द्रीय सदस्यले बताए ।

यसअघि रानालाई जिताएर पछुताएका कैलाली क्षेत्र नम्बर ५ का जनता यस पटक विकास र समृद्धिका लागि डा.राणालाई जिताउने छन् । डा. राणाले आफ्नो अनुभव, क्षमता र अन्तर्राष्ट्रिय सम्बन्धलाई कैलाली, सुदूर पश्चिम र देशको विकासमा समर्पित गर्ने सोचका साथ प्रतिनिधि सभाको निर्वाचनमा कैलाली क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दिने ती केन्द्रीय सदस्यले बताए ।

२०७४ सालमा प्रतिनिधि सभाको निर्वाचनमा पराजित भए पनि डा. राणाले कैलाली क्षेत्र नम्बर र सुदूर पश्चिमको विकास र समृद्धिका लागि गेटा मेडिकल कलेज, फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम, धनगढी विमानस्थलको स्तरोन्नतिका लागि अर्बौँ रुपैयाँ विनियोजनका लागि पहल गरेकी थिइन ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.