थारु समुदायको अट्वारी पर्व भदौ १२ गते

अत्तरिया : पश्चिम नेपालका थारू समुदायको प्रमुख सांस्कृतिक तथा सामाजिक पर्वको रुपमा रहेको अँट्वारी पर्व यस वर्ष भदौ १२ गते परेको छ ।
हरेक वर्ष कृष्ण जन्माष्टमीपछिको दोस्रो साताको आइतबार तथा कुशेऔंसी पछिको पहिलो आइतबारका दिन अँट्वारी पर्व मनाइन्छ । थारु नागरिक सामाज कैलाली संयोजक तथा थारु अगुवा दिलबहादुर चौधरीले अँट्वारी पर्व यहि भदौ १२ गते परेको बताए । उनले कुशे औंसी पछिको पहिलो आइतबार र भाद्र शुक्ल पक्षको पहिलो आइतबार भदौ १२ गते परेकोले उक्त दिन थारु समुदायको अँट्वारी पर्व परेको बताए ।
अँट्वारी मुलतः थारु समुदायका पुरुषले मनाउने पर्व हो । तर, थारु समुदायका महिला पनि अँट्वारी व्रत बस्ने गर्दछन् ।

पश्चिम नेपालको कैलाली, कञ्चनपुर, बर्दिया र दाङ जिल्लाका थारु समुदायले अँट्वारी पर्व मनाउने गरेका छन् । थारु समुदायको यो माघीपछिको अर्को प्रमुख सांस्कृतिक, सामाजिक पर्व हो । अट्वारीको अघिल्लो दिन अर्थात् शनिबार मध्य रातिमा दर खाएर यो पर्व सुरु हुन्छ । आइतबार व्रत बस्ने गरिन्छ ।
साँझ प्रत्येकले आफ्नो घरको छुट्टै कोठा लिपपोत गरेर चोखो रूपमा रोटी, पूरी पकाएर अँट्वारी पूजा गर्ने गर्दछन् । अँट्वारी पुजामा अण्डीक रोटी, काँक्रो, दही, केरा, बेलौटीलगायतका अग्रासन झिकेर पूजा गरिन्छ । त्यसको भोलिपल्ट बिवहान पाँच अथवा सात प्रकारका गेडागुडीयुक्त तरकारी र भातको फरहार गरिन्छ ।
प्रदेश सरकार मन्त्रिपरिषदको २०७८ चैत्र २२ गतेको निर्णय अनुसार भदौ १९ गते अँट्वारी पर्वको विदा दिने निर्णय गरेको छ । तर, थारु अगुवाहरुले भदौ १२ गते अँट्वारी पर्व परेकोले उक्त निर्णय सच्याउन माग गरेका छन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.