करार र अस्थायी कर्मचारीलाई सीधै स्थायी गर्नेगरी ऐन ल्याउँदै सुदूरपश्चिम प्रदेश सरकार

अत्तरिया : सुदूरपश्चिम प्रदेश सरकारले विभिन्न तहका करार तथा अस्थायी कर्मचारीलाई स्थायी गर्नेगरी नयाँ ऐन ल्याउने भएको छ। हाल कायम रहेको निजामति सेवा ऐन २०४९ को प्रावधान विपरीत प्रदेश सरकारले अस्थायी र करार सेवाका कर्मचारीलाई स्थायी गर्न ऐन ल्याउन लागेको हो।

संघीय संसद्‌मा विचाराधीन रहेको ‘सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ले समेत करार र अस्थायी कर्मचारीलाई सिधै स्थायी गर्ने परिकल्पना गरेको छैन। तर, सुदूरपश्चिम प्रदेश सरकारले ल्याउन लागेको ‘सुदूरपश्चिम प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’मा अस्थायी तथा करार कर्मचारीलाई आन्तरिक मूल्याङ्कनका आधारमा स्थायी गर्ने भनिएको छ।

प्रदेश सरकारले अस्थायी तथा करारमा कार्यरत श्रेणीविहीन कर्मचारीलाई सहायक तेस्रो तह कायम हुने गरी स्थायी गर्ने व्यवस्था पनि विधेयकमा गरेको छ। विधायन तथा प्रदेश मामिला समितिमा छलफलमा रहेको सो विधेयकको मस्यौदाको परिच्छेद २ को दफा ५ को उपदफा (३) भनिएको छ– ‘ऐन प्रारम्भ हुँदाका बखत स्वीकृत दरबन्दीमा करार वा अस्थायी रुपमा कार्यरत र कार्यालय सहयोगी, माली, चौकिदार, हेभी सवारी चालक, हलुका सवारी चालक, कम्प्युटर अपरेटर र स्वीपर पदका कर्मचारीलाई अख्तियारवालाले आन्तरिक मूल्यांकन गरी स्थायी पदपूर्ति गर्नेछ। यसरी पदपूर्ति भएका कर्मचारीले तहगत प्रणालीमा आबद्ध हुन चाहेमा त्यस्ता कर्मचारीलाई सहायक तेस्रो तहमा कायम गरिनेछ।’

हाल कायम रहेको निजामति सेवा ऐन २०४९ मा श्रेणीविहीन कर्मचारीले श्रेणीमा आबद्ध हुन चाहेमा राजपत्र अन‌ंकित पाँचौं श्रेणीमा कायम गरिने व्यवस्था छ। तर, प्रदेश सरकारले भने दुई श्रेणी (तह) माथि कायम गर्ने व्यवस्था ल्याउन लागेको छ। प्रदेश सरकारले ल्याउन लागेको उक्त विधेयकप्रति कर्मचारीहरुले नै विरोध जनाइरहेका छन्। आफ्नो तजबिजमा अस्थायी र करार सेवाको कर्मचारीमा नियुक्त गरिएका आफन्त तथा नातेदारलाई स्थायी बनाउन ऐन नै ल्याउन लागिएको भन्दै कर्मचारीहरुले विरोध जनाइरहेका छन्।

‘प्रदेश सरकारका मन्त्री र उच्च पदस्थ कर्मचारीहरुले नै आफन्त र नातेदारलाई विभिन्न ठाउँमा अस्थायी र करार कर्मचारीका रुपमा नियुक्त गरेका छन्। अहिले उनीहरुलाई स्थायी बनाउन कानुन नै ल्याउन लागिएको छ,’ प्रदेश सभा सचिवालयमा कार्यरत एक कर्मचारीले भने। उक्त विधेयकमा नयाँ करार तथा अस्थायी पदपूर्ति नगर्ने व्यवस्था पनि गरिएको छ। विधेयकको दफा ५ को उपदफा (४) मा अस्थायी र करार पदमा नयाँ पदपूर्ति नगरिने भनिएको छ। यस्तै, उपदफा (५) मा सहायक तेस्रो तहमा कायम भएका अस्थायी तथा करार कर्मचारीको दरबन्दी स्वतः खारेज हुने भनिएको छ। यदि कुनै कर्मचारी अवकासमा गए मात्रै दरबन्दी स्वतस् सिर्जना हुने उक्त उपदफमा उल्लेख गरिएको छ। ‘सहायक तेस्रो तहमा कायम भएका कर्मचारीको दरबन्दी स्वतः खारेज हुनेछ। अवकाश भएपश्चात उक्त दरबन्दी स्वतः सिर्जना हुनेछ,’ उपदफा (५) मा भनिएको छ।

विधेयकको दफा १३ मा निजामती कर्मचारीले गर्नुपर्ने कामका लागि ज्यालादारी वा करारमा कर्मचारी नियुक्त गर्न नपाइने भनिएपनि स्थायी पदपूर्ति नहुने पदमा करार वा ज्यालादारीमा पदपूर्ति गर्न सकिने उल्लेख छ। ‘स्वीकृत दरबन्दी भित्रको कम्प्युटर अपरेटर, कार्यालय सहयोगी, माली, स्वीपर, प्लम्बर, इलेक्ट्रिसियन र सवारी चालक जस्ता स्थायी पदपुर्ति नहुने पदमा करार वा ज्यालादारीमा पदपूर्ति गर्न सकिने छ,’ दफा १३ मा भनिएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.