अत्तरिया, १३ भदौ : थारु समुदायमा धार्मिक एवं सास्कृतिक महत्वको अटवारी पर्वको रौनक छाएको छ । भदौ महिनाको कृष्णाष्टमीपछिको शुक्लपक्षको पहिलो आइतबारका दिन थारु समुदायले दिदीबहिनीको अटल सौभाग्यको कामना गर्दै आज अटवारी पर्व मनाउँदै छन् । यो पर्वमा दाजुभाइले दिदीबहिनीको दीर्घायुको कामना गर्दै पानीसमेत नपिएर दिनभर व्रत बसी साँझ पुरुषद्वारा नै गुइँठाको आगामा सल्लाको धूप बनाइ बालेर भीमको पूजा गर्ने प्रचलन रहेको छ ।
कैलालीको कैलारी गाउँपालिका सागर चौधरीका अनुसार व्रतपछि गहुँको पिठोबाट बनेको खुर्मा, अनदीको चामलको बरिया, रोटीलगायत पकवान र फलफूल अग्नि देवतालाई अर्पण गरी दिदीबहिनीलाई केही भाग छुट्याएर बाँकी भाग वर्तालुले खाने चलन छ ।
अग्रासन दिएर फर्कने क्रममा दिदीबहिनीले दाजुभाइलाई उपहार दिने गर्छन् । अटवारीको दोस्रो दिन फुलौरी, केराउ, पटौला, ठच्चालगायत पकवान र माछाको सिद्रा व्रतालुले ग्रहण गर्छन् । यो पर्व थारु समुदायको दशैँपछिको ठूलो पर्वका रुपमा मनाइन्छ । थारु समुदायहरु सबै काम छाडेर तीन दिन सम्म भव्यताका साथ अटवारी पर्व मनाउने गरेको धनगढीका पत्रकार प्रेम चाधरीले बताए । ‘थारु समुदायमा एक दिन अगाडि देखि नै अटवारीको तयारी सुरु हुन्छ । आज र भोलि मजाल नाच्ने रमाउने गर्छन्’, उनले भने ‘दुई दिन कुनै पनि काम हुँदैन् ।’
थारु समुदायको बसोबास रहेका कैलाली सहित कञ्चनपुर, बाँके, बर्दिया, दाङ, लगायत क्षेत्रमा अटवारी पर्वलाई विशेष महत्वका साथ मनाइन्छ । यो पर्वमा विशेष गरी दाजुभाइले दिदीबहिनीको दीर्घायुको कामना गर्दै दिनभर व्रत बसी साँझपख भीमको पूजा गर्दछन् । आज दिनभर गाउँ–गाउँमा नाचगान भईरहेको छ । अटवारी पर्वका अवसरमा सुदूरपश्चिम प्रदेश सरकारले आईतबार तराईका जिल्ला कैलाली र कञ्चनपुरमा सार्वजनिक विदा समेत दिएको थियो ।
गौरीगंगामा पनि मनाई अटवारी
गौरीगङ्गा नगरपालिका वडा नं ८ मा थारु समुदायको अटवारी पर्व विशेष कार्यक्रम गरेर मनाइएको छ । वडा नं वडा कार्यालयको सहयोगमा थारु होमस्टे गाउँ कमैयाको आयोजनामा कार्यक्रम गरिएको थियो । हिरालाल चौधरीको सभापतित्वमा भएको कार्यक्रम भएको हो । कार्यक्रममा संविधान सभा सदस्य कृष्णकुमार चौधरीले भाषा संस्कृति भेषभुषा र परम्पराका धनी थारु समुदायमा बाह्य संस्कृतिको प्रभाव देखिएको भन्दै बाजे पुर्खाले समय प्रकृति अनुसार परम्परा रीतिरिवाज चाडपर्वलाई मौलिक अनुसरण गर्नुपर्ने बताए ।
समय परिस्थिति अनुसारका चाडपर्वहरू मनाउने थारु समुदायको आफ्नै अलग्गै विशेषता रहेको बताउँदै चौधरीले अग्रजहरूले संस्कृति परम्पराको पुस्ता हस्तान्तरण गर्दै विविध जातजाति भाषाभाषीको बिचमा थारु समुदायको पहिचान जगेर्ना गर्नुपर्ने बताएका थिए । जिल्ला समन्वय समितिका उपप्रमुख खगराज भुसाल, वडा अध्यक्ष करुणा चौधरी, थारु बुद्धिजीवी महादेव चौधरी, नेकपा जिल्ला सचिवालय सदस्य भक्तबहादुर शाही लगायतले शुभकामना व्यक्त गरेको कार्यक्रममा थारु महालोक गायक मनिराम चौधरीले मौलिक गीतको बेजोड प्रस्तुत गरेका थिए । स्थानीयले मौलिक नृत्य तथा संस्कृति भेषभुषा सहितको प्रस्तुती गरेको कार्यक्रमको सञ्चालन ठेकराज चौधरीले गरेका थिए ।
सम्बन्धित पाेस्टहरु