ज्येष्ठ नागरिकको सहारा बन्दै सेवा केन्द्र

अत्तरिया : ज्येष्ठ नागरिक लालबहादुर ओली घरमा एक्लोपन महसुस हुनथालेपछि धनगढीस्थित श्री जानकीयज्ञ ज्येष्ठ नागरिक दिवासेवा केन्द्रमा पुगेर भजनकीर्तनमा रमाइरहनुहुन्छ । सेवाकेन्द्रमा आयोजना हुने भजनकीर्तन, प्रवचन र देउडा गीतमा रमाउन ९४ वर्षीय उहाँसहितका वृद्धवृद्धा पुग्नुहुन्छ ।

उनले भने, “दैनिक दिवासेवा केन्द्रमा पुगेर गीत र भजन सुन्न पाउँदा रमाइलो लाग्छ, आफ्नै उमेरका नागरिकसँग भलाकुसारी पनि गर्नपाइन्छ ।” पचास वर्षअघि श्रीमतीको निधन भएर एक्लोपन महसुस गरेका उनका घरमा छोराबुहारी, नातिनतिना छन् । त्रीयासी वर्षीय भूमिनन्दन जोशी पनि दिउँसोको समयमा दिवासेवा केन्द्रमा पुग्छन् । “भजनकीर्तन र देउडा लगायतका गीत सङ्गीतको धुन बज्दा उत्साह र उमङ्ग थपिन्छ”, उनले भने, “आफ्नो दिनको सहरानै यो सेवाकेन्द्र बनेको छ ।” धनगढीकै ८२ वर्षीया चन्द्रा रोस्यारा सेवाकेन्द्रमा भइरहने गतिविधिले मनमा शान्ति हुने गरेको अनुभव सुनाउँछन् ।

उनले भने, “जीवन ठिकै चलेको छ, घरमा पनि सबैले स्याहार र माया गरिरहन्छन् ।” दिवासेवा केन्द्रमा दैनिक कम्तीमा आठ÷दशजना र बढीमा २५ जनासम्म ज्येष्ठ नागरिक पुग्ने गरेको बताइएको छ । हारमुनियम, तबला, खैँजडी, मिजरा, मादलको धुनमा भजनकीर्तनका गीत गाउँदा सहभागी ज्येष्ठ नागरिकमा उत्साह र उमङ्ग थपिने गरेको देखिन्छ ।

त्यसक्रममा उनले जीवनमा भोगेका सुखदुःखका घटनाका बारेमा आपसमा भलाकुसारी पनि गर्छन् । धनगढी उपमहानगरपालिका–२ को पुरानो भन्सार रोडछेउको श्री रामजानकी मन्दिर परिसरको एक भवनमा सञ्चालनमा रहेको उक्त सेवा केन्द्रले वृद्धवृद्धाका लागि दिउँसोको समयमा भजनकीर्तन सहितको गीतसङ्गीतको व्यवस्थापन गरेर मनोरञ्जन दिँदै आएको हो । भेला हुने ज्येष्ठ नागरिकका लागि खाजा र चियाको व्यवस्था गरिएको हुन्छ ।

सेवा केन्द्रमा व्यवस्थापनको जिम्मेवारीमा रहेकी दुर्गादेवी महराले सेवा केन्द्रले दिइरहेको सेवाबाट ज्येष्ठ नागरिकका अलावा आफूलाई पनि सन्तुष्टि भइरहेको बताए । उनले भने, “खाजा चियाको व्यवस्थापसँगै मनोरञ्जन दिने व्यवस्थाले बुढेसकालमा उनलाईं राम्रै भएको छ ।” घरमा अभाव, असुरक्षा र एक्लोपनमा बाँचिरहेका कतिपय ज्येष्ठ नागरिकले उचित माया र सहारा नपाउँदा वृद्धाश्रममा बस्नुपर्ने बाध्यता देखिन्छ ।

वयस्क उमेरमा जस्तो बुढेसकालमा खानेलाउने र बाँच्ने तरिका पनि फेरबदल आउने गर्दा ज्येष्ठ नागरिकलाई माया र साहारा निरन्तर चाहिन्छ । कतिपय घरपरिवारबाट उचित व्यवहार र माया नपाउँदा जीवनको उत्तरार्धमा वृद्धवृद्धा पीडित हुने गरेका घटना सुनिन्छन् । वृद्धवृद्धालाई दिउँसोको सयम बिताउन पाउने उचित ठाउँको अभाव महसुस हुँदा समाजसेवी रमणचन्द्र श्रेष्ठसहितको पहलमा विसं २०७१ मा श्री जानकी ज्येष्ठ नागरिक दिवासेवा केन्द्र स्थापनाको योजना बनेको थियो ।

दुई तले दिवासेवा केन्द्र भवनको पहिलो तल्लामा भजनकीर्तन र प्रवचनका कार्यक्रम भइरहन्छन् । दोस्रोे तल्लामा धार्मिक पुस्तकालय सञ्चालन गरिएको छ । भवन निर्माणमा प्रदेशसभाका सदस्य डिल्लीराज पन्त र उपमहानगरपालिका कार्यालयबाट पनि सहयोग प्राप्त भएको संरक्षक श्रेष्ठले बताए । ज्येष्ठ नागरिक सङ्घ कैलालीका पूर्वअध्यक्ष दिव्यप्रसाद पन्तले समाजका पथप्रर्दशक ज्येष्ठ नागरिकलाई आफू एक्लिएको अनुभव र मानसिक चिन्ता महसुस हुन नदिनका लागि दिवासेवा सञ्चालनमा सङ्घले पनि सक्दो सहयोग पु¥याइरहेको बताए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.