सुदूरपश्चिमका सांसदले फिर्ता गरेनन् गाडी र ल्यापटप

अत्तरिया : निर्वाचन आयोगका अनुसार प्रदेश र प्रतिनिधिसभा सदस्यहरुको कार्यावधि असोज १ गते राति १२ बजे नै समाप्त भएको छ । तर सुदूरपश्चिम प्रदेशसभाका सदस्यहरु हालसम्म सांसदकै लोगो भिरेर निर्वाचन केन्द्रित गतिविधिमा होमिएका छन् । प्रदेशसभाका पदाधिकारीहरुले सुविधाबापत प्राप्त सरकारी गाडी, ल्यापटप लगायतका यन्त्र, उपकरणहरु हालसम्म फिर्तासमेत गरेका छैनन् ।
सुदूरपश्चिम प्रदेशसभाको १० औं अधिवेशनको अन्तिम बैठक भदौ १७ गते बस्यो । प्रदेशसभा अधिवेशन अन्त्य भएपछि सांसदहरु आ–आफ्नो निर्वाचन क्षेत्रमा केन्द्रित भएका छन् । यस क्रममा प्रदेशसभाका पदाधिकारीहरुले सरकारी गाडीसहितका सुविधा उपभोग गरिरहेका हुन् ।
प्रदेशसभा सचिवालय धनगढीले केही प्रदेशसभा सदस्यबाहेक हालसम्म अधिकांशले गाडीसहित यन्त्र उपकरणहरु फिर्ता नगरेको जनाएको छ । प्रदेशसभाका ५३ जना सदस्यमध्ये हालसम्म एक जनाले गाडी र ६ जनाले मात्रै ल्यापटप बुझाएका छन् । बाँकी सबैले हालसम्म सरकारी सुविधा प्रयोग गरिरहेका छन् ।
प्रदेश सभा सचिवालय धनगढीका अनुसार प्रदेशसभा सदस्यलाई ४६ वटा ल्यापटप र पदाधिकारीलाई १० वटा गाडी खरिद गरी दिइएको थियो । तर हालसम्म नेकपा एमालेका प्रमुख सचेत लिलाधर भट्टले मात्रै आफूले चढ्दै आएको सुपप्र. १००१ झ ४३४ नम्बरको गाडी र एक थान ल्यापटप फिर्ता गरेको सचिवालयका सूचना अधिकारी युवराज जैशीले जानकारी दिए ।
त्यस्तै, असोज ७ गतेसम्म ल्यापटप फिर्ता गर्नेमा वीरमान चौधरी, महेशदत्त जोशी, हर्क बहादुर कुँवर, कृष्णराज सुवेदी, गोविन्दराज बोहरा छन् । प्रदेशसभा सचिवालयले सभामुख अर्जुन थापालाई से १ झ २७५, उपसभामुख निर्मला बडाल जोशीलाई से १ झ २७७, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका संसदीय दलका नेता प्रकाशबहादुर शाहलाई से १ झ २९९, सत्ता पक्ष नेकपा एकीकृत समाजवादीकी संसदीय दलका नेता दुर्गा कुमारी कामीलाई से १ झ ३०० नम्बरको गाडी दिइएको जनाएको छ । दुर्गा कामी हाल एकीकृत समाजवादी छोडी माओवादी केन्द्रमा प्रवेश गरिसकेकी छन् ।
त्यस्तै, विधायन तथा प्रदेश मामिला समितिका सभापति नेपालु चौधरीलाई से १ झ ३०७, अर्थ, विकास तथा प्राकृतिक स्रोत समितिका सभापति हर्कबहादुर कुँवरलाई से १ झ ३०८, सार्वजनिक लेखा समितिका सभापति कुमारी नन्दा बमलाई से १ झ ३०९ र सामाजिक विकास समितिका सभापति कुन्ती जोशीलाई से १ झ ३१० नम्बरको गाडी उपलब्ध गराइएको छ । सत्ता पक्ष माओवादी केन्द्रका प्रमुख सचेतक अक्कल रावललाई सुपप्र्र.०१००१ झ ०४३३ नम्बरको गाडी दिइएको छ भने सत्ता पक्ष नेपाली कांग्रेसकी प्रमुख सचेतक अम्बीकुमारी थापालाई भाडामा लिएर गाडी सुविधा दिइएको छ । प्रदेश सचिवालयले थापाले चढ्ने गाडीको दैनिक भाडा इन्धनबाहेक ५ हजार रुपैयाँ भुक्तानी दिँदै आएको छ ।
त्यस्तै, गाडी ल्यापटपसँगै एक थान प्रिन्टर समेत घर लगेकी सार्वजनिक लेखा समितिकी सभापति कुमारी नन्दाले प्रिन्टर तथा फोटोकपी मेसिन पनि हालसम्म फिर्ता नगरेको प्रदेशसभा सचिवालयले जनाएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.