अत्तरिया, २५ असोज : धनगढीमा २ दिने प्रदेशस्तरीय प्रयोगशाला गोष्ठी सुरु भएको छ । सुदूरपश्चिम प्रदेश जनस्वास्थ्य प्रयोगशालाको आयोजनामा मंगलबार देखि सुरु भएको हो । गोष्ठीमा आर्थिक बर्ष २०७८\०७९ को वार्षिक समीक्षा समेत हुने छ ।
गोष्ठीको प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयका सचिव दिपक लामेछाने प्रमुख अतिथि थिए । उनले स्वास्थ्य सेवामा प्रयोगशालाकर्मीहरुको महत्वपूर्ण भूमिका हुने हुँदा समन्वय र सहकार्य गरेर काम गर्नुपर्ने बताए । ‘दरबन्दी अनुसार कर्मचारी नहुँदा समस्या र चुनौती रहेका छन्’, उनले भने । ‘चुनौती छ भन्दैमा चुप लागेर बस्ने अवस्था पनि छैन् ।’ अन्य प्रदेशको तुलनामा सुदूरपश्चिममा दरबन्दी भन्दा कम कर्मचारीरहेको उनको भनाई रहेको छ । उनले करारमा भर्ना गरेर भए पनि कर्मचारीहरुको पदपूर्ति गर्ने दावी गरे ।
कार्यक्रममा सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका स्वास्थ्य निर्देशक डा. जगदिश जोशीले ल्याब विना स्वास्थ्य सेवा सम्भव नभएको हुँदा सक्रिय भएर काम गर्नुपर्ने बताए । उनले पूर्वाधारको कमी हुँदाहुँदै पनि सेवाग्राहीलाई गुणस्तरिय सेवा दिन आवश्यक रहेको बताए । सुदूरपश्चिममा २ सय १२ वटा प्रयोगशाला रहेका छन् । कार्यक्रम सुदूरपश्चिम स्वासथ्य प्रयोगशाला प्रमुख रामप्रसाद उपाध्यायको अध्यक्षतामा सुरु भएको हो । उनले ल्याव सेवाको गुणस्तरका लागि प्रयोगशालाको एक्लो प्रयासमा मात्र सम्भव नभएको हुँदा सबैको सहकार्य र समन्वय आवश्यक रहेको औल्याए । गोष्ठीमा सुदूरपश्चिमका ९ वटै जिल्लाका ल्याव टेक्निसियानहरुको सहभागिता रहेको छ ।