ह्विलचियरमै काकडभिट्टा नाकाबाट २३औँ दिनमा धनगढी

अत्तरिया : प्रेम, शान्ति र मेलमिलापको सन्देश बोकेर काकडभिट्टा नाकाबाट ह्विल चियरमै हिँडेका सन्देश रम्तेल धनगढी पुगेका छन् । बिहीबार उनी २३ दिनपछि कैलालीको धनगढी पुगेका हुन् । २ वर्षअघि सवारी दुर्घटनामा परेर दुवै खुट्टा काम नलाग्ने भएका रम्तेलले विश्व ह्विल चियर यात्रा सुरु गरेका थिए ।

धनगढी पुगेर उनले उपमहानगरपालिकाका मेयर गोपाल हमालसँग समेत भेट गरे । आफ्नो मातृभूमिबाट ह्विल चियर यात्र सुरु गरेर तिहारपछि भारत हुँदै एक सय ७० देशको यात्रा गर्ने रम्तेलले बताए ।

अपांगता भएका बालबालिकाको हकहितमा काम गर्ने र गौतम बुद्ध तथा पशुपतिनाथलगायत विश्व सम्पदा सूचीमा सूचीकृत सम्पदाको माटो बोकेर प्रेम, शान्ति, र मेलमिलापको कामना गर्दैै विश्वभर ह्विल चियर यात्रा गर्ने उनले बताए ।

‘एलएलबी अध्ययन गरेको छु, अहिले २५ वर्षको भएँ। विश्व शान्तिको कामना गर्दै यसप्रकारको यात्रा तय गरिसकेको छु,’ उनले भने, ‘सबैले आवश्यक सहयोग पनि गर्ने प्रतिबद्धता जनाएका छन् । धनगढीका मेयर सापले पनि सक्दो सहयोग गर्ने बताएपछि प्रेम, शान्ति र मेलमिलापको अभियान सार्थक बन्नेमा आशावादी छु ।’

इलामका स्थानीय रम्तेल महाकाली पारीका दोधारा(चाँदनी समेत पुगेर धनगढी, गोदावरी, गौरीगंगा, घोडाघोडी हुँदै सबै पालिका प्रमुखलाई अपांगता भएका बालबालिकाको हकहित र संरक्षणमा जोड दिन आग्रह गरिएको उनले बताए । उनले आफ्नो यात्राले अपांगता भएका व्यक्तिहरुलाई पनि उत्साह बढ्ने बताएका छन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.