टीकापुर क्याम्पसको तीन सय बिघा जग्गा अतिक्रमण

धनगढी : सुदूरपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पस टीकापुर बहुमुखी क्याम्पसको तीन सय बिघा जग्गा अतिक्रमण भएको छ। विसं २०६२ मा तत्कालीन टीकापुर विकास समितिले क्याम्पस स्थापनाका लागि तीन सय ८० बिघा जग्गा क्याम्पसलाई दिएको भए पनि क्याम्पसले हालसम्म ८० बिघा मात्रै भोगचलन गरिरहेको छ। अन्य तीन सय बिघा जमिन मुक्त कमैया तथा सुकुम्बासीको नाममा अतिक्रमण भएको छ।

२०६२\०६३ सालको आन्दोलनका बेला क्याम्पसको जमिन अतिक्रमण सुरु भएको क्याम्पस प्रमुख केशरबहादुर कुँवरले जानकारी दिए। उक्त जग्गामा अहिले करिब एक हजार पाँच सय घर–परिवारले टहरा बनाएर क्याम्पसको जमिन ओगटेको छ।
अतिक्रमण हटाउन स्थानीय सरकार, प्रदेश सरकार र सर्वपक्षीय बैठकबाट विश्वविद्यालयका उपकुलपति र रजिष्ट्रारको सहभागितामा पटक–पटक छलफल भए पनि अतिक्रमण हटाउन सकिएको छैन। सुदूरपश्चिम विश्वविद्यालयका रजिष्ट्रार यज्ञराज पाठकले विश्वविद्यालयले छलफल गरेर अतिक्रमण हटाउने प्रयास गरिरहेको बताए।

विश्वविद्यालयको जमिन राजनीतिक पहुँचवालाहरूले कब्जा गरेर कमाइ खाने भाँडो बनाएको स्थानीयवासीको आरोप छ। विश्वविद्यालयले कानूनी बाटोबाट अतिक्रमित जमिन उपभोग गरी गुरुयोजनाअनुसार भौतिक संरचना बनाउनुपर्ने यहाँका सामाजिक अगुवाहरू बताउँछन्। २०६२\०६३ सालको तत्कालीन माओवादीको उक्साहटमा सरकारी जमिन कब्जा भएदेखि सो जमिन सुकुम्बासीका नाममा अतिक्रमित भएको हो। टीकापुर नगरपालिकाका प्रमुख रामलाल डगौरा थारुले उक्त जग्गामा वर्षौंदेखि बसोबास रहेकाले अतिक्रमण हटाउन समस्या भएको बताए।

ुक्याम्पसले हामीलाई अतिक्रमण हटाइदिन भनेर पत्र पठाएको छ, उनले भने, त्यहाँ बसोबास गर्नेहरू र क्याम्पस दुवैलाई मर्का नपर्ने गरी व्यवस्थापनका लागि हामी लागेका छौँ। उनले समस्या समाधान गर्न सबै राजनीतिक दलहरू एकमत भएमात्रै सम्भव रहेको बताए।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.