धनगढी उपमहानगरपालिकाले ज्येष्ठ नागरिकलाई धार्मिक भ्रमणमा पठायो

धनगढी : धनगढी उपमहानगरपालिकाले ज्येष्ठ नागरिकलाई तिर्थ यात्राका लागि मुक्तिनाथ धाम पठाएको छ । वार्षिक स्वीकृत कार्यक्रम अनुसार नगर क्षेत्रका १९ वटै वडाबाट एक सय ४८ जना ज्येष्ठ नागरिकलाई मुक्तिनाथ धाम धार्मिक तिर्थ भ्रमणमा पठाइएको हो ।
उनीहरुलाई नगर प्रमुख गोपाल हमाल, उपप्रमुख कन्दकला रानासहित वडाध्यक्षहरुले संयुक्त रुपमा तिर्थ यात्रा भ्रमणको सफलताको कामना गर्दै बिहीबार दिउँसो धनगढीबाट खादा र टीकासहित बिदाई गरेका छन् । नगर प्रमुख हमालले ज्येष्ठ नागरिकको सम्मानका लागि वार्षिक स्वीकृत कार्यक्रमअनुसार उनीहरुलाई तिर्थ भ्रमणमा मुक्तिनाथ पठाइएको जानकारी दिए ।
‘हामीले नगरको वार्षिक नीति तथा कार्यक्रममा ज्येष्ठ नागरिकलाई धार्मिक भ्रमणमा लैजाने कार्यक्रम राखेका थियौँ । सोहीअनुसार आज हामीले उहाँहरुलाई मुक्तिनाथ पठाएका छौँ,’ हमालले भने, ‘अबको आउने पुस्ताले ज्येष्ठ नागरिकलाई माया र सम्मान गर्नुपर्छ भन्ने धारणा पैदा होस् । यहाँका ज्येष्ठ नागरिकप्रती सम्मान गर्नलाई यो कार्यक्रम गरेका हौँ ।’
नगर प्रमुख हमालकाअनुसार प्रत्येक वडाबाट कम्तीमा पाँच जनाका दरले छनोट गरिएको छ भने समाजमा विशिष्टकृत योगदान गरेका तर ज्येष्ठ नागरिकको परिभाषाभित्र पर्ने व्यक्तिहरुलाई पनि भ्रमणमा समेटिएको छ ।
उपमहानगरपालिकामा सेवारत रहेर चालु आर्थिक वर्षभित्र अवकास प्राप्त गर्ने कर्मचारीहरु पनि भ्रमणमा गएका छन् । भ्रमणको व्यवस्थापनको काम लक्ष्मीनारायण मन्दिरले गर्नेछ भने सहजीकरणका लागि स्वास्थ्य शाखा र सामाजिक विकास शाखाका कर्मचारीलाई पठाइएको उपमहानगरपालिकाले जनाएको छ । उपमहानगरपालिकाले ज्येष्ठ नागरिकको धार्मिक भ्रमणलाई निरन्तरता दिइने जनाएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.