अत्तरिया : कैलालीको गोदावरी नगरपालिका अत्तरिया चोकको होर्डिङ बोर्ड हटाइएको छ । मंगलबार बिहान नगरपालिकाका मेयर बिरेन्द्र भट्टले स्थानीय केही युबाहरुको सहभागीतामा हटाएका हुन ।
निर्वतमान मेयर हरिसिंह साउँद को कार्यकालमा व्यावसायिक साझेदारीमा होर्डिङ बोर्ड राखिएको थियो । चोकमा व्यावसायिक होर्डिङ बोर्ड राख्दा चोकको सौन्दर्यता बिग्रेको भन्दै स्थानीयले बिरोध समेत गरेका थिए । ठेकेदार कम्पनीले पनि सम्झौता अनुसारको रकम नगरपालिका लाई नियमित बुझाएको थिएन । अब चोकमा तत्कालको लागि पानी को फोहरा राख्ने नगरपालिकाले योजना बनाएको छ ।
२०७६ मा गोदावरी नगरपालिका र क्यालडोन ग्राफिक कम्पनीबीच चोकमा व्यवसायीक प्रयोजनका लागि बिलबोर्ड राख्ने सम्झौता भएको थियो । त्यसयता नै विवादीत बन्दै आएको उक्त विलबोर्ड हटाउन नगरपालिकालाई पटक पटक नगरबासीहरुले माग गरेपनि सुनुवाई हुन सकेको थिएन ।
२०७९ सालको स्थानीय तहमा निर्वाचित भएर आएका नयाँ जनप्रतिनिधिहरुलाई पनि नगरबासीहरुले बिलबोर्ड हटाउन माग गरेका थिए । पछिल्लो समय नगरप्रमुख विरेन्द्र भट्टले चोकको सुन्दरता नै बिगार्ने बिलबोर्ड लाई तत्कालै हटाउन निर्माण कम्पनिलाई निर्देशन दिएपनि उक्त कम्पनिले अटेरी गरेको थियो ।