सेनाको हेलिकोप्टर चढेर प्रधानमन्त्री देउवा धनगढी पुगे

अत्तरिया, १६ कात्तिक : प्रधानमन्त्री शेरबहादुर देउवा बुधबार धनगढी आईपुगेका  छन् । नेपाली कांग्रेसका सभापति समेत रहेका देउवा नेपाली सेनाको हेलीकोप्टरमार्फत धनगढी पुगेका हुन् ।
देउवा सवार हेलीकोप्टर धनगढीका बोराडाँडीस्थित नेपाली सेनाको ब्यारेकमा अवतरण भएको हो । त्यहाँबाट उनी राष्ट्र बैँकको निवास पुगेका छन् । आज उनी धनगढीमै बस्ने छन् । बिहीबार देखि चार दिन उनी आफ्नो निर्वाचन क्षेत्र समेत रहेको गृह जिल्ला डडेल्धुरामा चुनावी प्रचारमा जाने कार्यक्रम छ । श्रीमती आरजु राणा देउवामार्फत निर्वाचनका लागि उम्मेदवारी मनोनयनपत्र दर्ता गराएका थिए ।
उनी भोलि डडेल्धुरको अमरगढी नगरपालिकास्थित बसपार्कमा आयोजित चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । डडेल्धुरा काँग्रेसका अनुसा १८ गते बिहान नवदुर्गा गाउँपालिकाको खुनी र दिउँसो गन्यापधुरा गाउँपालिकाको बडाल, १९ गते बिहान अजयमेरु गाउँपालिकाको भद्रपुर र दिउँसो भागेश्वर गाउँपालिकाको रुपाल तथा २० गते आलिताल गाउँपालिकाको गोदाम र परशुराम नगरपालिकाको जोगबुढामा गठबन्धनले आयोजना गर्ने चुनावी सभालाई प्रधानमन्त्री देउवाले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।
ती सभामा सत्ता गठबन्धनका तर्फबाट प्रदेशसभा सदस्य पदको उमेदवार रहेका खगराज भट्ट र गोविन्दराज बोहराले पनि सम्बोधन गर्ने तयारी छ । ०४८ सालदेखि निरन्तर डडेलधुराबाट निर्वाचनमा प्रतिस्पर्धा गर्दै आएका देउवाले पहिलोपटक कम्युनिस्टको पनि साथ पाएका छन् । अहिले देउवाको प्रचारमा नेकपा (माओवादी केन्द्र), राष्ट्रिय जनमोर्चा र नेकपा (एकीकृत समाजवादी) का नेताहरू पनि संलग्न छन् ।
देउवाविरुद्ध लामो समय देउवाकै स्वकीयसचिव रहेका नेपाली कांग्रेस (बीपी) का कर्ण मल्ल, स्वतन्त्र उमेदवार सागर ढकाललगायत आठजना चुनावी मैदानमा छन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.