बझाङमा महर र जोशीबीच रोचक भिडन्त

बझाङ : एक प्रतिनिधि सभा सदस्यको निर्वाचन क्षेत्र भएको बझाङमा नेकपा (एमाले ) का केन्द्रीय सदस्य ऐनबहादुर महर र नेकपा (एकीकृत समाजवादी) का स्थायी कमिटी सदस्य भानुभक्त जोशीबीच रोचक भिडन्त हुने देखिएको छ । जोशीलाई कांग्रेस, माओवादी केन्द्रसहित बाम–लोकतान्त्रिक गठबन्धनको सहयोग रहेको छ भने महरलाई एमालेको साथ रहेको छ ।

लामो समयदेखि अनेरास्ववियुको राजनीतिमा सक्रिय रहेका महर र नेकपा (एस) का जोशीबीच रोचक प्रतिस्पर्धा हुने भएको छ । लामो समयदेखि एकै पार्टीमा रहेर काम गरेका दुवै उम्मेदवार मंसिर ४ मा हुने निर्वाचनमा भने मुख्य प्रतिस्पर्धीको रूपमा आमने सामने हुँदैछन् । बझाङ एमालेको प्रमुख संगठकका रूपमा रहेका जोशी गत वर्ष एमालेबाट फुटेर बनेको नेकपा (एस) पार्टीमा छन् । महर विद्यार्थी राजनीतिदेखि एमालेमा सक्रिय छन् । एमाले बझाङको संस्थापक भई जिल्लामा एमालेका बलियो सङ्गठन बनाएका जोशी र आफ्नै पार्टीका विद्यार्थी नेताहबीच यस्तो प्रतिस्पर्धा होला भनेर सायद कसैले सोचेका थिएनन् ।

पार्टीको जिल्ला नेतृत्व, प्रदेश, केन्द्र हुँदै मन्त्रीको पनि जिम्मेवारी पाइसक्नु भएका नेता जोशीको प्रतिस्पर्धा अनेरास्ववियूबाटै राजनीति सुरु गर्नुभएका महरसँग हुँदैछ । दुवै नेताले विकासका एजेन्डाहरू अघि सार्दै मतदातालाई रिझाउन घरदैलो अभियानमा व्यस्तछन् ।

जोशीले आफूलाई गठबन्धनको मात्र साथ नभई जिल्लाका केही जिम्मेवार र पुराना एमाले नेताको पनि साथ रहेको दाबी गरेका छन् । विद्यार्थी नेता महरलाई एमालेको मत सुरक्षित राख्न चुनौती रहेको छ । महरले आफूलाई कांग्रेस युवाहरूको पनि साथ रहने दाबी गरे । कांग्रेस नेता हर्ककजंगबहादुर सिंहले कांग्रेसको मत दायाँबायाँ नहुने बताउनुभयो । महर निर्वाचित भएमा बझाङमा एमाले झन् बलियो हुनेभन्दै कांग्रेस नेताहरूले जसरी पनि हराउनु पर्ने बताउने गरेका छन् ।

स्थानीय तहको मतका आधारमा एमालेभन्दा गठबन्धन १२ हजार ६ सय ३८ मतले अगाडि छ । स्थानीय तह अध्यक्षको मतको आधारमा एमालेले २८ हजार ६ सय १२ र सत्तारुढ गठबन्धनको सबै दलको जोडेर ४१ हजार २ सय ५० मत रहेको छ । एमाले उम्मेदवार महरले आफूलाई बिषेशगरी युवाहरूको साथ रहेकाले आफू निर्वाचित हुने बताए । जोशीले भने आफूसँग लामो समयको अनुभव भएकाले आफूलाई सहयोग हुने विश्वास व्यक्त गरे । प्रदेशतर्फ समेत गठबन्धनबाट प्रदेश क्षेत्र १ मा कांग्रेसबाट पृथ्वीबहादुर सिंह, एमालेबाट अफिलाल ओखेडा र प्रदेश २ मा माओवादी केन्द्रबाट भिमभण्डारी र एमालेबाट लालबहादुर रावलबीच प्रतिस्पर्धा हुने देखिएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.