सुदूरपश्चिममा निर्वाचनको तयारी तिब्र : २५ हजार जनशक्ति परिचालन

अत्तरिया : प्रतिनिधि तथा प्रदेशसभा सदस्यको निर्वाचनमा सुदूरपश्चिम प्रदेशमा स्वयंसेवकसहित करिब २५ हजार जनशक्ति परिचालन हुने भएको छ । मंसिर ४ गते हुने निर्वाचनका लागि तयारी तिब्र पारेको छ ।
सुदूरपश्चिम निर्वाचन कार्यालयका अनुसार तयारी तिब्र पारेको हो । निर्वाचनमा खटिने जनशक्तिलाई तालिम, मतपत्र र निर्वाचनमा आवश्यक पर्ने सामग्री तयार गर्ने तथा सिल गर्ने काम अन्तिम चरणमा पुगेको छ ।
प्रदेश निर्वाचन कार्यालयका प्रमुख प्रेमराज भट्टका अनुसार मतदान केन्द्रमा रहेका मतदाता संख्याको आधारमा निर्वाचनका लागि जनशक्ति खटाइने भएको छ । मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी, स्वयंसेवक र कार्यालय सहयोगी परिचालन गरिनेछन ।
सुरक्षाकर्मीबाहेक स्वयंसेवकसहित गरेर प्रदेशभर २५ हजार जनशक्ति निर्वाचनका लागि परिचालन गर्ने तयारी भएको भट्टले बताए । उनले भने, ‘पाँच सयसम्म मतदाता भएको केन्द्रमा स्वयंसेवकसहित ११ जना र पाँच सय बढी मतदाता भएको केन्द्रमा १२ जना खटाउने तयारी भएको छ ।’
सुदूरपश्चिम नौ वटै जिल्लामा गरेर दुई हजार एक सय ४६ मतदान केन्द्र र एक हजार एक सय ६१ मतदानस्थल कायम गरिएका छन् । यसका साथै प्रदेशभर २२ वटा अस्थायी मतदान केन्द्र तोकिएका छन् । प्रदेशमा रहेका मतदाता संख्याको आधारमा प्रत्येक जिल्लामा मतपत्र पनि पुगिसकेका छन् । मतपत्र र निर्वाचन सामग्री तयार गर्ने र सिल गर्ने काम अन्तिम चरणमा पुगेको भट्टले बताए । ‘मतदाता संख्याको पाँच प्रतिशत बढी मतपत्र यसअघि नै यहाँ पुगिसकेका छन् । मतपत्र र निर्वाचनमा आवश्यक पर्ने अन्य सामग्री प्याकिङ्ग तथा सिल गर्ने काम भइरहेको छ ।’ उनले भने
मतदान अधिकृत र सहायक मतदान अधिकृतो तालिम सञ्चालन भएको र उनीहरुको तालिमपश्चात मतपत्र र निर्वाचन सामग्री सम्बन्धित मतदानकेन्द्रमा ढुवानी गरिने जनाएको छ । आईतबार देखि मतपत्र र निर्वाचन सामग्री ढुवानीको काम शुरु भएको र मङ्सिर १ गतेभित्र सम्बन्धित मतदानकेन्द्रमा पुगिसक्ने भट्टले बताए । सुदूरपश्चिममा १६ लाख ५८ हजार चार मतदाता रहेका छन् । यहाँ प्रतिनिधिसभाका लागि १६ र प्रदेशसभाका लागि ३२ निर्वाचन क्षेत्र रहेका छन् । निर्वाचनको मिति नजिकिएसँगै दलका उम्मेदवारले प्रचारप्रसारमा तीव्रता दिएका छन् । चुनावी ऐजेण्डाका साथ गाउँ पसेका उम्मेरवार मतदाता रिझाउन महत्वकांक्षी योजना बाँडिरहेका छन ।
कञ्चनपुरमा निर्वाचन सामग्री पुगे
कञ्चनपुरमा आसन्न प्रतिनिधि र प्रदेशसभाको निर्वाचनका लागि तयारी तीव्र पारिएको छ । जिल्लाका तीनवटै निर्वाचन क्षेत्रका लागि मतपत्रलगायत निर्वाचन सामग्री पुगिसकेको र मतदान केन्द्रअनुसार मतपत्र मिलाउने, मतपेटिका, छाप, स्ट्याम्प प्याड, कपडालगायत सामग्री व्यवस्थापनको काम भइरहेको मुख्य निर्वाचन अधिकृत ध्रुवकुमार शाहले जानकारी दिए ।
‘जिल्ला निर्वाचन कार्यालयका कर्मचारी निर्वाचन सामग्री व्यवस्थापनमा व्यस्त छन् । मतपत्र र अन्य निर्वाचन सामग्री पुगिसकेका छन्, प्रत्येक निर्वाचन क्षेत्रमा मतदाताभन्दा बढी मतपत्र आएका छन, उनले भने । प्रतिनिधिसभाका लागि तीन वटा निर्वाचन क्षेत्र रहेको जिल्लाको क्षेत्र नं १ मा ९१ हजार एक सय १०, २ मा एक लाख पाँच हजार पाँच सय ७७ र ३ मा ९७ हजार आठ सय २२ मतदाता छन् ।
मतपत्र व्यवस्थापनसँगै कर्मचारी खटाउने काम भइरहेको मुख्य निर्वाचन अधिकृत शाहले बताए । कञ्चनपुरमा एक सय ३२ मतदानस्थल र तीन सय ४६ मतदान केन्द्र रहेका छन् । एक मतदान केन्द्रमा आठ जनाका दरले दुई हजार सात सय ६८ कर्मचारी छनोट भइसकेको जिल्ला निर्वाचन अधिकारी उदयराज जोशीले बताए ।
‘कर्मचारीलाई तालिम दिइरहेका छौँ, तालिमपश्चात् निर्वाचन सामग्री र मतपत्र दिएर उनीहरुलाई मतदानस्थल पठाइनेछ, उनले भने । कारागारका कैदीबन्दी र कर्मचारीका लागि जिल्ला कारागार र भीमदत्त नगरपालिकामा दुई वटा अस्थायी मतदान केन्द्र राखिएका छन् । २–४ मंसिरसम्म भवन तथा परिसर उपलब्ध गराउन स्थानीय तहहरुलाई पत्राचार गरिएको नेपालले बताए ।
चुनावका लागि भौतिक संरचना व्यवस्थापन पत्राचार
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ४ मंसिरमा हुने प्रतिनिधि सभा तथा प्रदेशसभा निर्वाचनका लागि आवश्यक पर्ने भौतिक संरचना व्यवस्थापन गराउन स्थानीय तहहरुलाई पत्राचार गरेको छ ।
निर्वाचन आयोगले चुनावका लागि आवश्यक पर्ने भवन, परिसर र भौतिक संरचनाको व्यवस्थापन गरिदिन भन्दै मन्त्रालयमा परिपत्र गरेको थियो ।

सोही परिपत्र अनुसार निर्वाचनका लागि आवश्यक पर्ने भौतिक संरचनाहरुको व्यवस्थापन गरिदिन स्थानीय तहहरुलाई पत्राचार गरिएको सामान्य प्रशासन मन्त्रालयका शाखा अधिकृत चिरञ्जीवी नेपालले जानकारी दिए ।
निर्वाचनका लागि सामुदायिक विद्यालय, वडा कार्यालय, स्वास्थ्य चौकी तथा अन्य सार्वजनिक स्थान आवश्यक परेको खण्डामा व्यवस्थापन गर्न आयोगले मन्त्रालयसँग आग्रह गरेको थियो ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.