कञ्चनपुर,२० मंसिर : कञ्चनपुरमा छाडा चौपायाको समस्या बढ्दै गएको छ। पछिल्लो समय पशुको संरक्षण नहुँदा दिनप्रतिदिन समस्या बढ्दै गएको हो। स्थानीय तहले छाडा पशुचौपाया व्यवस्थापनका लागि खर्च गरे पनि समस्या समाधान हुन नसकेको भीमदत्त नगरपालिका निवासी हरिभान भट्टले बताए।
चौपायाको समस्या समाधान नहुँदा स्थानीय चिन्तित बनेका छन्। बेदकोट नगरपालिकामा छाडा चौपायाको समस्या समाधान नभएको जनाउँदै सडकका चौपाया सङ्कलन गरेर स्थानीयवासीले नगरपालिका परिसरमा थुनेका छन्। नगरपालिकालाई छाडा चौपायाको समस्या समाधानका लागि दबाब दिन चौपाया नगरपालिकामा थुनिएको कमला चौधरीले बताइन्। छाडा चौपाया नगरपालिका परिसरमा तीन दिनदेखि राखिएका छन्। समस्या समाधान नहुञ्जेसम्म नगरपालिकामा चौपाया थुनिने उनले बताइन् ।
पशुलाई धर्ममा पूजा गर्ने तर मनमा नमान्ने प्रवृत्ति मौलाउँदा पशु संरक्षण हुन नसकेका उनको भनाइ छ। छाडा चौपाया व्यवस्थापन हुन नसक्दा पूर्वपश्चिम राजमार्ग, बजार क्षेत्रभर नै पशु चौपायाको समस्या जस्ताको त्यस्तै छ। भीमदत्तले रु ५० लाख खर्चेर निर्माण गरेका कान्जिहाउसमा एउटा पनि पशु चौपाया छैनन्। जग्गा भाडामा लिएर बनाएको गौशाला जीर्ण बन्दै गएको स्थानीय राधेश्वर धामीले बताए। पश्चिम गड्डाचौकीबाट सुकासाल, वनगाउँ, बसपार्क, सुडा लालपुर, सिसैया, दैजी, गुलरिया, कृष्णपुरसम्म जताततै छाडा चौपाया देखिन्छन्।
राजमार्गमा छाडा पशुका कारण दुर्घटनाको खतरा पनि बढेको छ। छाडा चौपायाका कारण यात्रुले राजमार्गमा सास्ती खेप्नुपरेको छ। छाडा चौपायाले खेतमा लगाएका बाली सखाप गर्ने गरेको बेदकोट–९ की काजल साउदले बताइन्। बेदकोट नगरप्रमुख भोजराज बोहराले छाडा चौपाया व्यवस्थापनका लागि काम अगाडि बढेको बताए। पूर्वपश्चिम महेन्द्र राजमार्गमा पर्ने भीमदत्त, बेदकोट, शुक्लाफाँटा, कृष्णपुर नगरपालिकामा छाडा चौपायाको समस्या छ। शुक्लाफाँटा नगरपालिकाका छाडा चौपायालाई वडा नं ९ स्थित बनाइएको गौशालामा राख्ने गरिएको नगरप्रमुख रणबहादुर महराले बताए। छाडा चौपाया व्यवस्थापनका लागि कृष्णपुर नगरपालिकाले काम तीव्ररूपमा अगाडि बढाएको नगरप्रमुख हेमराज ओझाले बताए।
उनका अनुसार नगरपालिकाको प्रत्येक वडामा गौशाला निर्माण गरी छाडा चौपाया व्यवस्थापन गरिरहेको छ। छाडा चौपाया व्यवस्थापनका लागि नगरपालिकाले घाँस, चारो, पानी र हेरालाको व्यवस्था गर्न योजना बनाएको उनले जानकारी दिए। नगरपालिकाले चालु आर्थिक वर्षमा छाडा चौपाया व्यवस्थापनका लागि रु ४० लाख बजेटको व्यवस्था गरेको छ।