काठमाडौं : आईसीसी यू–१९ विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गतको खेलमा नेपालले युएईविरुद्ध ७ रनको रोमाञ्चक जित निकालेको छ । नेपालले दिएको १ सय ९२ रनको लक्ष्य पछ्याएको युएई ४८ ओभरमा १ सय ८४ रनमा अलआउट भएको हो । प्रतियोगितामा अपराजित रहेको नेपाल च्याम्पियन बन्दै सन् २०२४ मा श्रीलंकामा हुने यु–१९ विश्वकपमा छनौट भएको छ।
हार नजिक पुगेको नेपालका लागि दिपेश कँडेलले ह्याट्रिक विकेट लिएपछि च्याम्पियन बन्ने अवसर प्राप्त भएको हो। २ ओभरमा जम्मा ७ रन चाहिएको अवस्थामा कँडेलले लगातार तीन विकेट लिएका हुन्। कूल ५ विकेट लिएका कँडेल प्लेयर अफ दि म्याच घोषित भए। सुवास भण्डारी र हेमन्त धामीले २र२ विकेट लिएका लिए।
यसअघि अजमानस्थित इडेन गार्डेन ओभलमा टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले ४८ दशमलव ५ ओभर खेल्दै १ सय ९१ रन बनाएको थियो । नेपालका लागि देव खनालले सर्वाधिक ५१ रन बनाए। विशाल विक्रम केसीले ३८, उत्तम थापा मगरले ३६, दिपेश कँडेलले १५, हेमन्त धामीले १३ र मिलन बोहराले १० रन बनाए । अरू खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन्।