टीकापुर साहित्य महोत्सव हुँदै

अत्तरिया : कैलालीको टीकापुरमा यही चैत २५ देखि २७ गतेसम्म साहित्य महोत्सव आयोजना हुने भएको छ ।नेपाली भाषा र साहित्यको उर्वर भूमि सुदूरपश्चिमको दक्षिणपूर्वी क्षेत्र कर्णाली नदीको किनारमा रहेको टीकापुरमा साहित्य कार्यक्रमको आयोजना हुन लागेको हो । राजा महेन्द्रले आारोग्यता प्राप्त गरेको भूमि टीकापुरमा पहिलो पटक नेपाली साहित्यकारको ठूलो जमघट हुन लागेको हो । साहित्य महोत्सवमा ४० लाख खर्च हुने अनुमान गरिएको छ ।

महोत्सवमा हरेक दिन विभिन्न कार्यपत्र प्रस्तुत हुनेछन् । हरेक सत्रमा सुदूरपश्चिमको कला, साहित्य, सम्भावना, पर्यापर्यटन र वेशभूषाबारे छलफल हुनेछ । महोत्सवले भाषा, साहित्य, कला संस्कृति, राजनीति, दर्शन, अर्थ, शिक्षा, स्वास्थ्य, पर्यटन, उद्योग व्यवसाय, पत्रकारिता र सामाजिक क्षेत्रका विज्ञ तथा सो कार्य क्षेत्रसँग सम्बन्धित एक सय ५० जना वक्ता, सहजकर्ता, कवि गजलकार तथा कलाकारका प्रस्तुति रहनेछन।

कार्यक्रममा रु एक लाखको खड्ग स्मृति राष्ट्रिय गौरव पुरस्कारसमेत प्रदान गरिने भएको छ । ७५ हजार राशिको टीकापुर साहित्य समाज श्रेष्ठ कवि पुरस्कार, ५० हजार राशिको टीकापुर साहित्य समाज प्रतिभा पुरस्कार (सुदूरपश्चिमका प्रतिभालाई) प्रदान गरिने र २५ हजार राशिको टीकापुर साहित्य समाज जेहेन्दार विद्यार्थी पुरस्कार टीकापुरका विद्यालय तथा महाविद्यालयमा अध्ययनरत जेहेन्दार विद्यार्थीलाई प्रदान गरिने छन् । यी पुरस्कार हरेक वर्ष प्रदान गरिने बताइएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.