अत्तरिया : सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा ५० शैयाको प्रादेशिक आयुर्वेद चिकित्सालय उद्घाटन गरिएको छ। बुधबार एक कार्यक्रमका बीच धनगढी उपमहानगरपालिका वडा नम्बर १३ र ३ को सिमानामा रहेको चिकित्सालयको सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले उद्घाटन गरेका हुन्। उद्घाटन कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाहले आयुर्वेद चिकित्साको महत्त्व बढ्दै गएकाले प्रदेश सरकार यसलाई प्रभावकारी संचालनका लागि प्रतिबद्ध रहेको बताए।
‘परापूर्वकालमा हाम्रा पूर्खाहरूले,ऋषिमुनिहरूले औषधी उपचारका क्रममा लिएको विधि चाहे योग होस्, चाहे आयुर्वेद होस् आज त्यसको महत्त्व अझ बढी बढ्दै गएको छ। यसले शारीरिक र मानसिक शान्ति प्रदान गर्छ’, उनले भने। मुख्यमन्त्री शाहले आयुर्वेद क्षेत्रमा चाहिने जनशक्ति पनि यसैबाट उत्पादन होस् भन्ने प्रदेश सरकारको चाहना रहेको बताउँदै त्यसका लागि प्रदेश सरकार सहयोग गर्ने उल्लेख गरे।
कार्यक्रममा प्रदेश भौतिक पूर्वाधार विकासमन्त्री प्रकाश देउवाले यश चिकित्सालयका लागि अन्य भौतिक संरचना आवश्यक भए सहयोग गर्न तयार रहेको बताए।उनले यसलाई देशकै नमुना आयुर्वेद चिकित्सालय बनाउनु पर्ने त्यसका लागि आफू पहल गर्ने पनि बताए। प्रादेशिक आयुर्वेद चिकित्सालयका निमित्त निर्देशक सूर्यनारायण उपाध्यायले विश्वले कोभिड पछि योग र आयुर्वेदलाई चिनेको बताए।

उनले भने, ‘विश्वमा ७० प्रतिशत मानिस नसर्ने रोगबाट पीडित भएको र नसर्ने रोगको उपचार आयुर्वेदमा र योगमा छ।’ स्वास्थ्य मन्त्रालय,आयुर्वेद विभागले आयुर्वेद चिकित्सा नीति अन्तरगत हरेक प्रदेशमा ५० बेडको आयुर्वेद अस्पताल निर्माण गर्नु पर्छ भन्ने नीति अन्तरगत २०७४ सालदेखि प्रादेशिक आयुर्वेद चिकित्सालयको भवन निर्माण सुरुगरी २०७८ मा सम्पन्न भएको उनले जानकारी दिए। हाल आयुर्वेद चिकित्सालयबाट ओपिडी सेवा सुरु गरिएको छ। ५० बेडको अस्पताल छ तर अहिले ओपिडी मात्रै सुरु गरेको छ।
निमित्त निर्देशक उपाध्यायले भने,’पञ्चकर्म,पूवृकर्म सुरु त गरेका छौँ, तर व्यवस्थित गर्न सकेका छैनौँ।’ औषधी र कर्मचारीको अभाव समेत रहेको बताउँदै उनले हाल ३५ जनाको मात्रै दरवन्दी रहेको जानकारी दिए। हाल दैनिक २ सयभन्दा बढी बिरामीले सेवा लिइरहेको उनले बताए। आयुर्वेद चिकित्सालयको संघीय सरकारले भवन निर्माण गरेर २०७८ मा प्रदेश सरकारलाई हस्तान्तरण गरेको जनाइएको छ।