धनगढी:अत्तरिया ६ लेन सडक हस्तान्तरण नहुँदै भासिन र भत्किन थालेको छ । ६ लेन सडकको दोस्रो प्याकेजअन्तर्गत गेटा क्षेत्रको पूर्वी लेनमा वर्षा हुँदा पानी जम्ने गरी सडकको बीच भाग भासिएको छ । भासिएको क्षेत्रमा कालोपत्रे भने फुटेको छैन ।
६ लेन सडक ठाउँठाउँमा चर्किनुका साथै भत्किएको पनि छ । धनगढी विमानस्थल गेट, राजपुरलगायत केही ठाउँमा सडक भत्किरहेको हो । नेपाल सरकारको करोडौँ रुपैयाँ लगानीमा बनेको सडक हस्तान्तरण नहुँदै भासिन र भत्किन थालेपछि यसको गुणस्तरमाथि प्रश्न उठेको छ । बनेको एक–डेढ वर्ष पनि सडक नटिक्नुले गुणस्तरीय काम भएको छैन भन्ने देखिएको स्थानीय बताउँछन् । सडक गुणस्तरीय बन्न नसक्नुमा ठेकेदारसँगै निर्माणका क्रममा अनुगमनमा खटिएका ६ लेन सडक आयोजना कार्यालयका प्राविधिक पनि दोषी रहेको स्थानीयको आरोप छ ।
गेटामा सडकको दुई–तीन लेनमा पानी जम्मा हुने गरी भासिएको गोदावरी नगरपालिका– ५, गेटाका स्थानीय भक्ता रानाले बताए । भासिएको क्षेत्रमा मोटरसाइकल अनियन्त्रित हुने भएकाले दुर्घटना बढेका उनले बताए । सडक भासिएका कारण मोटरसाइकल चलाउन अप्ठ्यारो हुने गरेको उनले बताए । सरकारको ठूलो लगानीमा बनेको सडक निर्माणका क्रममा लापरबाही भएको उनको दाबी छ । सडक निर्माणका क्रममा रोलरले राम्ररी नदबाइएको र गुणस्तरीय सामग्री प्रयोग नगरिएकाले सडक बिग्रन थालेको उनले बताए । सडक बनेपछि सुविधा भए पनि गुणस्तरीय सडक बन्न नसकेको रानाले बताए ।
अलकत्रालगायत निर्माण सामग्रीको गुणस्तर जाँचसँगै राम्ररी दबाइएको छ–छैन भनेर नहेरिँदा अहिले समस्या आएको गोदावरी– ५, का वडाध्यक्षसमेत रहेका गेटाका स्थानीय शुद्धिराम चौधरीले अध्यक्ष चौधरीले बताए । ठेकेदार र प्राविधिकको मिलेमतोमा कमसल काम भएको भन्दै स्थानीयले सडकको गुणस्तर परीक्षण हुनुपर्ने माग गरेका छन् । केही ठाउँमा रेलिङ र पोलसमेत भाँचिएका छन् भने ब्लक बिछ्याएर बनाइएको फुटपाथ पनि भासिएको छ ।
पूर्व–पश्चिम व्यापारिक मार्ग विस्तार आयोजनाअन्तर्गत एक अर्ब ५३ करोडभन्दा बढी लागतमा धनगढीदेखि अत्तरियासम्म १४.२ किलोमिटर लामो ६ लेन सडक निर्माण गरिएको हो । सडक हस्तान्तरण हुन बाँकी छ । तीनवटा खण्डमा छुट्याएर अलग–अलग ठेक्का लगाइएको यो सडक सुरुको सम्झौताअनुसार दुई वर्षभित्र सम्पन्न हुनुपर्ने हो, तर ६ वर्ष बित्दासम्म काम पूरा भएको छैन । सडकछेउतिर रेलिङ राख्ने, ट्राफिक संकेत राख्ने, रङरोगन गर्ने, जेब्राक्रसिङ र किलोमिटरको पोस्ट बनाउने काम पूरा भएका छैनन् ।
मोहना पुलदेखि बोराडाँडीसम्म साढे चार किलोमिटर लामो पहिलो खण्डको काम शर्मा–अमर–नागार्जुन जेभीले गरिरहेको छ । बोराडाँडीदेखि गेटासम्म साढे चार किलोमिटर दोस्रो खण्डमा लुम्बिनी–राजेन्द्र–डाँफे तथा गेटादेखि–अत्तरियासम्म तेस्रो खण्डमा लामा–राजेन्द्र–डाँफेले ठेक्का लिएको छ । ६ लेन सडक आयोजना हेरिरहेको महाकाली पुल आयोजनाका प्रमुख रामबहादुर गुरुङले ६ लेन सडक केही ठाउँमा भासिएको र फुटेको बताए । दोस्रो खण्डको धेरै ठाउँमा सडक भासिएको उनले बताए ।