अनितालाई ९० वर्षमा नागरिकता

डडेल्धुरा : अमरगढी नगरपालिका–३, मरकट्टेकी अनिता विष्ट उमेरले ९० वसन्त काटेपछि नागरिकता पाएकी छन । दुईवटै आँखा नदेख्ने र कान पनि नसुन्ने विष्ट अशक्त छन ।
प्रमुख जिल्ला अधिकारी विश्वनाथ न्यौपानेसहित प्रशासन कार्यालयको टोली बिहीबार उनको घरमै पुगेर नागरिकता दिएको हो । नागरिकता नहुँदा उनी सामाजिक सुरक्षा भत्ता पाउनबाट वञ्चित थिईन । नागरिकता पाएसँगै अब उनले सामाजिक भत्तासमेत पाउने छन । अमरगढी–३, डोटी घटाल क्षेत्रको मरकट्टे गाउँकी ज्येष्ठ नागरिक विष्टको साहारा बुहारी र नातिनी बनेका छन्। छोरा रोजगारीको सिलसिलामा भारतमा छन् ।
पतिको मृत्यु दर्ता र छोरा बुहारीको नागरिकता भएको आधारमा उहाँलाई घरमै पुगेर नागरिकता उपलब्ध गराएको प्रमुख जिल्ला अधिकारी न्यौपानेले बताए । अनिताको माइती घर भारत हो । उनले भारत नागरिकता लिएकी थिएन । सानै उमेरमा बिहे गरेर डडेल्धुरा आएको बुझिएको छ । उनको नागरिकतामा जन्ममिति १९८९ माघ १२ गते उल्लेख गरिएको छ । जन्मस्थान भारत देश पञ्चावत उल्लेख छ ।
वडाध्यक्ष तीर्थबहादुर ऐरका अनुसार मालपोत कार्यालयमा समेत पुगेर जग्गा नामसारीका प्रमाणसमेत जुटाइएको थियो । अनिताका बुवाको मृत्युपछि उनको छोराका नाममा जग्गा नामसारी गरिँदा आमाको नाम उल्लेख छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.