प्राथमिकताका आधारमा बजेट विनियोजन गर्न सुझाव

अत्तरिया : सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०८०\८१ बजेट तथा योजना तर्जुमासम्बन्धी प्रदेशसभा सदस्यहरूसँग छलफल तथा अन्तरक्रिया गरेको छ । प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले उद्घाटन गरेको कार्यक्रममा प्रदेश सभा सदस्यहरूले प्राथमिकताका आधारमा बजेट तथा योजना बनाउनु पर्नेमा जोड दिएका छन् ।
गोदावरीमा भएको छलफलमा प्रदेश सभा सदस्य धर्मराज पाठकले बजेट निर्माणबारे प्रदेशसभा सदस्यहरूसँग छलफल गरेर राम्रो कामको सुरुवात गरिएको बताए । विगतका कमी कमजोरी र सिकाइपछि छलफल भएको भए झन् राम्रो हुने उनले सुझाए । उनले भौतिक विकास मात्र नभई मानवीय विकास र रोजगारीमा पनि ध्यान दिनुपर्ने बताए । कामका लागि भारत जाने अवस्थालाई रोक्नेगरी बजेट निर्माण गर्न पनि उनले सुझाव दिए ।
कञ्चनपुरबाट निर्वाचित प्रदेश सभा सदस्य बेलबहादुर रानाले हामीले यो काम गरेका छौ भन्ने देखाउने गरेर बजेट तथा योजना तर्जुमा गर्न सुझाव दिए । विगतमा दुई सय योजनामा २७ करोड बजेट दिइएको उदाहरण दिँदै त्यस्तो तरिकाले अब बजेट विनियोजन गर्न नहुने बताए । बाजुराका प्रदेश सभा सदस्य पदमबहादुर शाहीले सङ्घ र स्थानीय सरकारको चेपुवामा आफूहरू परेको बताउँदै आफूहरू पनि जनताबाट निर्वाचित भएकाले बजेट वितरण गर्न पाउनुपर्ने बताए । भ्रष्टाचार हुन्छ भनेर बजेट वितरण गर्न नदिनु गलत भएको बताउँदै भ्रष्टाचार गर्नेलाई कारबाही गर्ने अख्तियारलगायतका निकाय भएको उनले स्मरण गराए ।
डोटीबाट निर्वाचित प्रदेश सभा सदस्य चक्र मल्लले पनि अबका दिनमा बिचौलियालाई हाबी हुनबाट रोक्नुपर्ने बताउँदै निर्वाचन क्षेत्र विकास कोषबाट समेत बजेट दिइनुपर्ने बताए । बाजुराका प्रदेश सभा सदस्य जुना दानीले पारदर्शी तरिकाले काम हुने गरेर बजेट तथा योजना बनाइनुपर्ने धारणा राखिन् ।
अछामबाट निर्वाचित प्रदेश सभा सदस्य मेघराज खड्काले बजेटका प्राथमिकता निर्धारण गर्नुपर्ने बताउँदै आम्दानीका स्रोत बढाउनेतर्फ पनि ध्यान दिन जरुरी रहेको बताए । प्रदेश सभा सदस्यहरूले धारणा राखिसकेपछि मात्र मुख्यमन्त्री शाही र मन्त्रीहरूले जवाफ दिने कार्यक्रम रहेको छ । प्रदेशको आर्थिक मामिला मन्त्रालयद्वारा आयोजित सो कार्यक्रममा नेपाल सरकारका सचिव उदय सापकोटा, पूर्व मुख्यसचिव डा. सोमलाल सुवेदी, सुदूरपश्चिमका प्रमुख सचिव नारायणप्रसाद शर्मा दुवाडीले कानुन तर्जुमा, बजेट तथा कार्यक्रम र सुदूरपश्चिमको वर्तमान आर्थिक अवस्था तथा भावी कार्यदिशाबारे प्रस्तुति गरे ।
आर्थिक मामिलामन्त्री नरेशकुमार शाहीको अध्यक्षतामा भएको कार्यक्रममा सो मन्त्रालयका सचिव डा. नारायणप्रसाद रेग्मीले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पारे ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.