धनगढी : कक्षा ८ को परीक्षमा धनगढीका १७ विद्यालयबाट सबै विद्यार्थी फेल अर्थात् ननग्रेड भएका छन्। आइतवार तयार भएको परीक्षा नतिजामा धनगढीका विभिन्न १७ सामुदायिक विद्यालयबाट कुनै पनि विद्यार्थीले कक्षा ९ मा भर्ना हुने योग्यता हासिल नगरेको परीक्षा नतिजाले देखाएको छ।
उपमहानगरको शिक्षा युवा तथा खेलकुद महाशाखाले नतिजा तयार गरेर प्रकाशित गर्न सम्बन्धित विद्यालयमा पठाइएकाले कुन कुन विद्यालयमा नतिजा शून्य आयो त्यो भन्न नमिल्ने बताए। तर, १७ जति विद्यालयमा कुनै विद्यार्थीले पनि कक्षा ९ मा भर्ना हुन आवश्यक ग्रेड प्राप्त नगरेको बताइएको छ।
उपमहानगरको शिक्षा, युवा तथा खेलकुद महाशाखाका अनुसार धनगढीमा ६३ सामुदायिक विद्यालय छन्। ६३ मध्ये कुन विद्यालयमा आगामी शैक्षिक सत्रमा कक्षा ९ मा भर्ना हुने विद्यार्थी छैनन् भन्ने कुरा विद्यालयहरूले नतिजा प्रकाशन गरेपछि भन्न मिल्ने बताइएको छ।