सामुदायिक विद्यालयको कक्षा आठको नतिजा : गोदावरीमा ९३, धनगढीमा ९ प्रतिशत विद्यार्थी उत्तीर्ण

अत्तरिया : कक्षा ८ को नतिजामा कैलालीको गोदावरी नगरपालिकामा ९५ प्रतिशत विद्यार्थी पास भएका छन् भने धनगढी उपमहानगरपालिकामा ९ प्रतिशत मात्र विद्यार्थी पास भएको छन् । गोदावरी नगरपालिकाले सार्वजनिक गरेको तथ्यांक अनुसार ८ को परीक्षामा सहभागी जम्मा २ हजार ६४३ परीक्षार्थी मध्ये ९५.३४ प्रतिशत उत्तीर्ण भएका हुन् ।
नगरको शिक्षा युवा तथा खेलकुद शाखाका अनुसार सामुदायिक विद्यालयका १ हजार ६७३ जना परीक्षार्थी मध्ये १ हजार ५५८ जना (९३.१२ प्रतिशत) परीक्षार्थी उत्तीर्ण भएका छन् । यस्तै संस्थागत विद्यालयका ९७० जना परीक्षार्थी मध्ये ९४२ जना (९७.११ प्रतिशत) परीक्षार्थीहरु उत्तीर्ण भएका हुन् ।
१ हजार ६ सय ७३ जना समुदायिक र ९७० जना संस्थागत गरी जम्मा २ हजार ६४३ विद्यार्थी मध्ये १२३ जना (४.६५ प्रतिशत) विद्यार्थी परीक्षामा अनुत्तीर्ण भएका छन् । परीक्षामा सहभागी सामुदायिक विद्यालयका १ हजार ६७३ जना परीक्षार्थी मध्ये ११५ जना (६.८७ प्रतिशत) अनुत्तीर्ण भएका हुन् । यस्तै परीक्षामा सहभागी संस्थागत विद्यालयका ९७० जना परीक्षार्थी मध्ये ८ जना (०.८२ प्रतिशत) अनुत्तीर्ण भएका छन् ।
गोदावरी नगरपालिकामा अन्य पालिका भन्दा कक्षा ८ को नतिजा निकै सुधार भएको पाईएको छ ।
गत सालको परीक्षामा सय प्रतिशत नै विद्यार्थी उत्तीर्ण भएका बताउदै शिक्षा शाखा प्रमुख प्रयागराज जोशिले यसपालि भने ५ प्रतिशत विद्यार्थी अनुत्तीर्ण भएका बताए ।
उनले यो पटक अनुत्तीर्ण भएका १२३ जना विद्यार्थी मध्येबाट नै ग्रेड बृद्धि परीक्षा हुने बताए । १२ गते सम्म ग्रेड बृदिका लागि फम भर्ने समय दिएको र त्यसपछि ग्रेड बृद्धि परीक्षाको मिति तोकिने शाखा प्रमुख जोशीले बताए ।
नगरपालिकामा कक्षा ८ को परीक्षाको नतिजा अनुसार सामुदायिक विद्यालयमा पनि सुधार भएको पाईएको हो । परीक्षामा २९ ओटा समुदायिक र २७ ओटा संस्थागत विद्यालयको सहभागिता रहेको थियो ।
धनगढीमा ९ प्रतिशत मात्रै उत्तीर्ण
सुदूरपश्चिम प्रदेशको एकमात्र उपमहानगरपालिका धनगढी उपमहानगरपालिकामा आधारभूत तह (कक्षा ८) को परीक्षामा सामुदायिक विद्यालयको नतिजा निकै कमजोर देखिएको छ । शैक्षिक सत्र २०७९ को अधारभूत तह (कक्षा ८) को परीक्षाको प्रारम्भिक नतिजामा उपमहानगरपालिकामा रहेका सामुदायिक विद्यालयका ९ दशमलव १८ प्रतिशत विद्यार्थी मात्रै उत्तीर्ण भएका हुन् ।
सामुदायिक विद्यालयका २ हजार ५२८ जना परीक्षामा सम्मिलित रहेकोमा प्रारम्भिक नतिजामा जम्मा २३२ जना विद्यार्थीमात्रै उत्तीर्ण भएको उपमहानगरपालिकाको शिक्षा, यूवा तथा खेलकुद महाशाखा प्रमुख नरेन्द्रबहादुर खातीले जानकारी दिए । संस्थागत विद्यालयका भने २ हजार ११० परीक्षार्थी मध्ये १ हजार २७१ जना उत्तीर्ण भएका उनले बताए । संस्थागत विद्यालयतर्फ ६० दशमलव २४ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।
आधारभूत तह (कक्षा ८) को परीक्षाको प्रारम्भिक नतिजामा १८ विद्यालयको नतिजा शून्य भएको छ । उपमहानगरभित्रका १७ सामुदायिक र १ संस्थागत गरी १८ विद्यालयका कुनै पनि विद्यार्थी उत्तीर्ण नभएको उपमहानगरपालिकाको शिक्षा, यूवा तथा खेलकुद महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार शून्य नतिजा भएका समुदायिक विद्यालय धनगढी–१ मा रहेको सरस्वती आधारभुत विद्यालय,वडा नं. १३ मा रहेको नवज्योति आधारभूत विद्यालय,जनता राष्ट्रिय माध्यमिक विद्यालय,वडा नं. ६ मा रहेको भैरवबाबा आधारभूत विद्यालय,वडा नं. ९ मा रहेको सरस्वती आधारभूत विद्यालय रहेका छन् । त्यस्तै वडा नं. ७ मा रहेको शिव माध्यमिक विद्यालय,वडा नं. १७ मा रहेको भानु माध्यमिक विद्यालय,सज्जन आधारभूत विद्यालय, वडा नं. १६ स्थित दीपेन्द्र चारपाते मावि,वडा नं. १४ स्थित शिवशंकर आधारभूत विद्यालय, सिद्धार्थ आधारभूत विद्यालय,वडा नं. १८ को खप्तडी आधारभूत विद्यालय र इन्द्रोदय आधारभूत विद्यालयका कुनैपनि विद्यार्थी उत्तीर्ण भएनन् ।
त्यस्तै वडा नं. १९ मा रहेको फूलवारी आधारभूत विद्यालय,वडा नं. १२ स्थित नवदुर्गा आधारभूत विद्यालय,दुर्गा आधारभूत विद्यालय र वडा नं. १० स्थित जनकल्याण माध्यमिक विद्यालयको नतिजा शून्य आएको उपमहानगरपालिकाको शिक्षा, यूवा तथा खेलकुद महाशाखाले जनाएको छ ।

त्यस्तै संस्थागत विद्यालय अन्तरगत वडा नं. ३ स्थित मोडर्न स्कुलको नतिजा शून्य आएको जनाइएको छ । पूर्ण समय पठनपाठन नहुनु,साधन स्रोतका कमी हुनुलगायतका कारण सामुदायिक विद्यालयको कमजोर नतिजा आएको महाशाखा प्रमुख खातीले बताए । बैशाख २९ र ३० गते बढीमा २ सैद्धान्तिक विषयमा ननग्रेड कायम भएका विद्यार्थीका लागि ग्रेड बृद्धि परीक्षा सञ्चालन हुने उपमहानगरपालिकाले जनाएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.