काठमाण्डौँ, ११ साउन : नेपाल प्रहरीले झन्डै ९ हजार हातहतियार नष्ट गरेको छ । विभिन्न मिति र स्थानबाट जफत एवं बरामद भएका हातहतियारहरूलाई बुधबार नष्ट गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । प्रहरीका अनुसार कुल ८ हजार ८९६ वटा हतियार नष्ट गरेको हो ।
६ हजार ७४ वटा भरुवा बन्दुक, १७७ वटा बाह्र बोर, विभिन्न प्रकारका १ हजार ७६ वटा पेस्तोल, २३२ वटा म्याग्नम, २९ वटा एयर गन नष्ट गरेको हो । त्यस्तै, २२९ सर्ट गन, ६२६ वटा थ्रीनटथ्री राइफल, ३३४ वटा रिभल्भर, १० वटा ग्यास गन, २५ वटा हर्नेट र नाम नखुलेको ८४ थान हतियार नष्ट गरिएको हो । काठमाडौं महानगरपालिका–११ स्थित नेपाल प्रहरी केन्द्रीय विशेष कार्यदल कपन परिसरमा नष्ट गरिएको हो ।
हातहतियार, खरखजाना एवं विष्फोटक पदार्थ व्यवस्थापन निर्देशिका, २०६९ को दफा ८ (३) बमोजिम नष्ट गरिएको प्रधान कार्यालयले जानकारी दिएको छ । हतियारमा रहेका फलामलाई पत्रु बनाइएको थियो । नष्ट गर्दा प्रधान कार्यालय कार्यविभागका एआइजी मिरा चौधरीसहित गृह मन्त्रालय, जिल्ला प्रशासन कार्यालय काठमाडौं, कोष तथा लेखा नियन्त्रण कार्यालय लैनचौर एवं स्थानीय प्रतिनिधि र बुढानीलकण्ठ नगरपालिका–११ का वडाध्यक्ष समेत उपस्थित थिए । यसरी हातहतियारहरूको दीर्घकालीन व्यवस्थापन गर्न प्रधान कार्यालयले एआइजी चौधरीको अध्यक्षतामा प्राविधिक टोली बनाएको थियो । उक्त टोलीले जेठ २३ र असार २६ गते कानुनी प्रक्रिया अनुसार नष्ट गर्न सिफारिस गर्ने निर्णय गरेको थियो ।
सम्बन्धित पाेस्टहरु