डडेल्धुरा उपक्षेत्रीय अस्पतालमा एकजना पनि छैनन् विशेषज्ञ

डडेल्धुरा : सुदूरपश्चिम प्रदेशमा विशिष्ट विशेषज्ञ सेवासहितको स्वास्थ्य सुविधा रहेको भनिएको एक मात्र अस्पताल हो, डडेल्धुरा अस्पताल । तर, २० जना विशेषज्ञ चिकित्सकको दरबन्दी रहेको यो अस्पतालमा विशेषज्ञ चिकित्सक भने एकजना पनि छैनन् ।

संघीय सरकारमातहत सञ्चालनमा रहेको डडेल्धुरा उपक्षेत्रीय अस्पताललाई ५ फागुन ०७५ को मन्त्रिपरिषद् बैठकले विशिष्ट सेवा प्रवाह गर्ने गरी डडेल्धुरा अस्पतालमा स्तरोन्नति गरेको थियो । सुदूरपश्चिमका सात पहाडी जिल्लाका बासिन्दालाई सेवा प्रवाह गर्न यो अस्पताललाई प्रदेशकै ठूलो अस्पतालमा स्तरोन्नति गरिएको थियो । तर, अहिले सामान्य ज्वरो आएका बिरामीलाई पनि धनगढी रेफर गर्नुपर्ने बाध्यता छ ।
‘छोरीलाई ज्वरो आएपछि डडेल्धुरा अस्पताल लगेकी थिएँ, तर त्यहाँका स्वास्थ्यकर्मीले ज्वरोसमेत निको पार्न सकेनन् । अन्ततः धनगढी रेफर गरिदिए,’ डडेल्धुरा अमरगढीकी निर्मला जोशीले भनिन् । उस्तै पीडा छ, बैतडीका रमेश चन्दको । ‘श्रीमतीलाई प्रसूति सेवाका लागि डडेल्धुरा अस्पताल पुर्‍याएँ, तर अस्पतालमा न प्रसूति रोग विशेषज्ञ रहेछन्, न बालरोग विशेषज्ञ नै । जोखिमपूर्ण अवस्था देखेपछि धनगढी लगेँ,’ उनले भने ।

विशिष्ट विशेषज्ञ अस्पताल पाँच सय शय्याको हुनुपर्छ । तर, यो अस्पतालमा एक सय शय्या पनि मुस्किलले सञ्चालन भइरहेको छ । प्रदेशको सबैभन्दा ठूलो अस्पताल भए पनि धनगढी प्रादेशिक अस्पतालमा बिरामी रेफर गर्नुपर्ने अवस्था रहेको बताउँछन्, अस्पतालका सूचना अधिकारी टंकप्रसाद पन्त । उनका अनुसार विशिष्ट विशेषज्ञ अस्पतालको हैसियत पाउँदा पनि दरबन्दी भने उपक्षेत्रीय अस्पतालअनुसार पनि छैन ।

‘उपक्षेत्रीय अस्पताल सञ्चालनका लागि १०९ जनाको दरबन्दी स्वीकृत भएको थियो । त्यसअनुसार पनि एकजना ११औँ तहको मेडिकल सुपरिटेन्डेन्ट, नवौँ र १०औँ तहका थप १९ जना कन्सल्टेन्ट चिकित्सक हुनुपर्ने हो । तर, आठौँ तहका मेसुले अस्पताल सञ्चालन गरिरहेका छन् । दरबन्दीमा नवौँ र १०औँ तहका एकजना पनि चिकित्सक कार्यरत छैनन्,’ सूचना अधिकारी पन्तले भने । १०९ मध्ये ४७ पद रिक्त छन् ।

अस्पतालका निमित्त मेसु डा। चेतराज भट्टले स्वीकृत दरबन्दीअनुसार चिकित्सकलगायत स्वास्थ्यकर्मी नहुँदा सेवा प्रवाहमा समस्या भएको बताए । ‘सुरुमा यहाँ चिकित्सक ल्याउनै मुस्किल छ, ल्याइसकेपछि टिकाउन झन् समस्या छ,’ उनले भने, ‘सेवा प्रभावकारी बनाउन सबैभन्दा पहिले प्रत्येक विभागमा तीन चिकित्सक आवश्यक पर्छन्, तर एकजना चिकित्सक टिकाउन पनि मुस्किल छ ।’

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.