कञ्चनपुर, १५ साउन : कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाबाटा भारतीय नागरिकलाई लुटपाट र कुटपिट गर्ने तीन जना युवक पक्राउ परेका छन् । शनिवार राति १२ बजे दुई जना भारतीय नागरिकलाई कुटपिट र लुटपाट गरेको आरोपमा प्रहरीले तीन जना युवालाई पक्राउ गरेको हो ।
भारतको पिलिभित घर भएका मोहित कुमार र असरफ अहमदलाई कुटपिट र लुटपाट गरेको अभियोगमा शुक्लाफाँटा नगरपालिका वडा नम्बर ५ का रवि साउँद उर्फ बास्सा र वडा नम्बर ११ का सुरेन्द्रबहादुर विष्ट उर्फ ल्याङ तथा भुवन ऐर पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
तीनै जनाले भारतीय नागरिक मोहित कुमार र असरफ अहमदबाट नगद १९ हजार, दुई थान मोटरसाइकल र दुई थान मोबाइल लुटपाट गर्दै दुबै जनालाई कुटपिट गरेका थिए । इलाका प्रहरी कार्यालयमा मोहित र अहमदको जाहेरीको आधारमा प्रहरी टोलीले तीनै जनालाई कलुवापुर क्षेत्रबाट पक्राउ गरेको थियो ।
बास्सा यसअघि पनि हातहतियार मुद्दामा जेल सजाय भोगेका व्यक्ति रहेको प्रहरीले जनाएको छ । उनी भर्खरै कारागारमुक्त भएका थिए । प्रहरीले तीनै जनाबाट नगद, मोबाइल र मोटरसाइकलसमेत बरामद गरेको जनाएको छ ।
सम्बन्धित पाेस्टहरु