अत्तरिया, ८ असोज : बाजुरा खप्तडछेडेदह गाउँपालिका–२ माँटेसागुमा भाइरल ज्वरोले गाउँनै प्रभावित बनेको छ । भाइरल ज्वरोका कारण २ जनाको मृत्यु भएको स्थानीयले बताएका छन् । वडा नम्बर २ का वडा अध्यक्ष भक्तबहादुर बुढाका अनुसार अनुसार मृत्यु हुनेमा ४९ वर्षीय सौरादेवी बुढा र ६२ वर्षीय कुलबहादुर शाही रहेका छन ।
बुढाको चार दिन पहिला र शाहीको आइतबार राति मृत्यु भएको हो ।
माटेसाँघु गाउँमा रहेका १ सय ६० भन्दा बढी घर परिवारको सबै घरमा बिरामी परेका छन् । भाइरल ज्वरो फैलिएको एक हप्ता भइसकेको छ । कुनै घरका सबै सदस्य र कुनै घरका एक दुई जना बिरामी परेका छन् ।
स्थानीयका अनुसार ज्वरो १ सय ३ डिग्रि माथी आउने, खोकी लाग्ने, शास फुल्ने जस्ता लक्षण देखापर्ने गरेका छन् । गाउँमा भाइरल ज्वरो फैलिएको खबरपछि स्वास्थ्यकर्मीको टिम पठाउन लागेको स्वास्थ्य कार्यलय बाजुराका निमित्त प्रमुख महेश चन्दले जानकारी दिए । खप्तडछेडेदह गाउँपालिका बाट दुई जना स्वास्थ्यकर्मी पठाइसकेको र जिल्ला स्वास्थ्य कार्यलयबाट औषधी सहितको टोली पठाउन लागेको चन्दले बताए ।
सम्बन्धित पाेस्टहरु