अत्तरिया : नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले जनश्रमदानमार्फत कैलालीमा आफ्नो घर बनाएका छन्। कैलालीको टीकापुर नगरपालिका–१ कर्मचारी टोलस्थित खाद्य गोदाम नजिक जनश्रमदान गराएर चौधरीले घर निर्माण गरेका हुन।
उन्मुक्ति पार्टीका स्थानीय कार्यकर्ताहरूलाई श्रमदान गराएर टीकापुरमा एक तले घर तयार भएको जनाएका छन। उन्मुक्ति पार्टीका एक नेताका अनुसार जनश्रमदानबाट एक तले घर निर्माणको काम सकिएको छ।
‘जग हाल्नेदेखि एक तला पूरा हुँदासम्म श्रमदानबाट काम भएको हो, टीकापुरका साथै बाँके, बर्दिया लगायतका थुप्रै कार्यकर्ता श्रमदानमा सहभागी भएका थिए,’ ती नेताले भने, ‘रेशम जी जेलबाट छुटेपछि भेट्न आउने गाउँले, साथीभाइहरू पनि श्रमदानमा जुटेका थिए।’
स्वस्फुर्त रुपमा कार्यकर्ता घर निर्माणमा सहभागी बनेको ती नेताको दाबी छ। श्रमदानबाट घर निर्माण भइरहेको विषयमा नकारात्मक टिप्पणी आउन थालेपछि श्रमदानमा भइरहेको काम रोकिएको छ। ‘जनताले माया गरेर स्वस्फूर्त रुपमा गरेको श्रमदान अरुलाई पचेन, अन्य राजनीतिक दलका नेताहरुले यसलाई विवादमा ल्याए,’ चौधरी निकट ती नेताले भने, ‘स्वस्फुर्त रूपले खुसी खुसी जनता श्रमदानमा आउँथे, एक तलासम्म काम गरेर पछि श्रमदानका काम रोकेका हौं।’
श्रमदानबाट निर्माण भएको पहिलो तलामा हल बनाइएको छ। चौधरीले स्थानीयलाई घर निर्माणमा सहभागी गराउनुका साथै सिमेन्ट लगायत निर्माण सामग्री सहयोग पाएका थिए। घर निर्माणको काममा स्थानीय कार्यकर्तासँग चौधरी आफै पनि सक्रिय थिए। टीकापुर–१ मा चौधरीको तीन तले घर निर्माणाधीन अवस्थामा छ।
उक्त घरलाई ‘उन्मुक्ति घर’ नाम दिइएको छ। अर्को व्यवस्था नहुञ्जेलसम्म पार्टी कार्यालयको रुपमा सो घर प्रयोग गरिने चौधरी निकट नेताहरूको भनाइ छ। ‘पार्टीको कार्यालयका लागि जग्गा पाइएको छैन, कार्यालयको लागि अर्को व्यवस्था नहुँदासम्म यही घर प्रयोग गरिन्छ,’ ती नेताले भने, ‘दोस्रो तला ढलान गरियो, तेस्रो तलामा पिल्लर ठड्याइएको छ।’
