उप-निर्वाचन, बझाङ-१ मा दलहरुको को-को छन टिकटका दावेदार ?

बझाङ : निर्वाचन आयोगले इलाम जिल्लाको प्रतिनिधि सभा क्षेत्र नं २ सँगै बझाङ १ को प्रदेशसभा क्षेत्र न. १ मा उपचुनावको कार्यतालिका सार्वजनिक गरेको छ। निर्वाचन कार्यतालिका अनुसार फागुन २४ देखि ३० गतेसम्म दल दर्ताको समय तोकिएको छ। २४ चैतमा उम्मेदवारी दर्ता हुनेछ। यस्तै, २७ गते अन्तिम नामावली प्रकाशन गरेर निर्वाचन चिह्न प्रदान गरिने निर्वाचन आयोगले जनाएको छ। चैत २८ देखि वैशाख १२ गतेसम्म निर्वाचन प्रसार प्रसारको अवधि तोकिएको छ। १५ वैशाखमा विहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म मतदान हुनेछ।

बझाङ १ (१) बाट निर्वाचित नेपाली कांग्रेसका सांसद पृथ्वीबहादुर सिंहको सडक दुर्घटनामा परेर निधन भएपछि रिक्त भएको त्यहाँ उपचुनाव भइरहेको हो। सत्तारुढ गठबन्धनभित्रबाट बझाङमा कांग्रेससहित नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले दाबी गरेका छन्। विगतमा जितेको क्षेत्र हुनाले गठबन्धनभित्र कांग्रेसको सशक्त दाबी छ। माओवादीले पनि गठबन्धनबाट आफूले साझा उम्मेदवार उठाउन पाउनुपर्ने माग अघि सारेको छ। गठबन्धनबाट बझाङ पाउनुपर्ने भन्दै माओवादी नेताहरुले शक्ति केन्द्रसँग अनौपचारिक रुपमा माग राख्न थालेका हुन्।

माओवादी बझाङका अध्यक्ष टोपबहादुर खड्का भन्छन्, ‘आम चुनावदेखि राष्ट्रिय सभासम्म कांग्रेसले हामीहरूलाई धोका दिएको छ। गठबन्धनबाट बझाङमा हामीले उम्मेदवारी दिन पाउनुपर्ने कार्यकर्ता पङ्त्तिको माग छ।’ आफ्नो मत जोगाइराख्न माओवादीले एक्लै पनि उम्मेदवारी दिनुपर्ने आवाज उठिरहेको उनले बताए। गठबन्धनको सरकार भएकाले गठबन्धनबाहिर गएर एक्लै चुनावमा लड्न सकिने अवस्था पनि नरहेको उनको भनाइ छ।

गठबन्धनमा बझाङ माओवादीले पाए खड्का टिकटका दाबेदार छन्। सत्ता घटक नेकपा एकीकृत समाजवादीले पनि बझाङमा दाबी गरेको छ। ‘स्वाभाविक रुपमा गठबन्धनभित्र हाम्रो पनि दाबी रहन्छ। पार्टी गठबन्धनमा रहेकाले केन्द्रले जे निर्णय गर्छ सोही अनुसार अघि बढ्नुपर्छ’, नेकपा एकीकृत समाजवादीका बझाङका अध्यक्ष इन्द्र भण्डारीले भने। नेकपा एकीकृत समाजवादीबाट बझाङमा प्रदेश सभा सदस्यका लागि केन्द्रीय सदस्य दिलबहादुर सिंहले आकांक्षा देखाएका छन्।

कांग्रेसमा आकांक्षीको लर्को : गठबन्धनमा टिकटको सशक्त दाबेदार कांग्रेसभित्र आकांक्षीको लर्को छ। निर्वाचन मिति घोषणासँगै कांग्रेसवृत्तमा आकांक्षीबारे चियोचर्चा हुन थालेको छ। कांग्रेस नेताहरूका अनुसार बझाङ १ को प्रदेश सभा क्षेत्र नम्बर १ मा चुनाव लड्न आधा दर्जन बढी दाबेदार देखिएका छन्।

सुदूरपश्चिम प्रदेश सरकारका तत्कालीन आन्तरिक मामिला तथा कानूनमन्त्री पृथ्वीबहादुर सिंहका छोरा अभिषेक बहादुर सिंह प्रमुख दाबेदार छन्। गत असारमा मन्त्री सिंह, उनकी पत्नी र भाउजुको बझाङको केदारस्युँमा जिप दुर्घटनामा परेर निधन भएको थियो। सिंहको निधनपछि रिक्त बझाङ १ मा कांग्रेसबाट उनका छोरा अभिषेक चुनाव लड्न चाहन्छन्। उनी राजनीतिमा पनि सक्रिय छन्।
यसपटकको स्थानीय तह चुनावमा अभिषेक जयपृथ्वी नगरपालिका– ५ को अध्यक्षमा भिडेका थिए। तर उनी स्वतन्त्र उम्मेदवारसँग पराजित भए।
बुवाको राजनीतिक विरासत जोगाउन अभिषेकलाई टिकट दिनुपर्ने कांग्रेसभित्र आवाज उठ्ने गरेको छ। ‘विगतमा जितेको क्षेत्र हो। गठबन्धनबाट कांग्रेसले टिकट पाउनेमा कुनै सन्देह छैन’, कांग्रेस बझाङका एक नेताले भने, ‘मन्त्रीज्यूको छोरा चुनाव लडाउनुपर्ने आवाज छ। अन्य पनि दाबेदार त धेरै छन्।’

सिंहपछि पूर्वराज्यमन्त्री अर्जुनजंग बहादुर सिंह पनि दाबेदार हुन्। कांग्रेस बझाङका पूर्वसभापति सत्यराज भण्डारी, गायक नन्दकृष्ण जोशी, जगत जोशी र विष्णु ऐडीले पनि प्रदेश सभामा चुनाव लड्ने आकांक्षा राखेका छन्। ती नेताका अनुसार समानुपातिक सांसद प्रकाश स्नेही र चन्द्रा जोशी पनि प्रदेशतर्फ झर्नसक्ने सम्भावना छ। आकांक्षी बढी हुँदा कांग्रेसलाई उम्मेदवार छान्न चुनौती हुने देखिन्छ।

एमालेबाट कस्ले पाउला टिकट ? नेकपा एमालेभित्र अहिलेसम्म प्रदेश सभामा चुनाव लड्नका लागि तीन जना आकांक्षी देखिएका छन्। एमाले नेताहरूका अनुसार नेता अफिलाल ओखेडा, बझाङ अध्यक्ष दमन भण्डारी र जिल्ला कमिटी सदस्य प्रयाग जोशी दाबेदार छन्।

ओखेडा यसअघिको चुनावमा सिंहसँग पराजित भएका थिए। सिंह १७ हजार ११२ मत ल्याएर प्रदेश सांसदमा निर्वाचित हुँदा ओखेडाले १३ हजार ३३६ मत प्राप्त गरेका थिए। एमालेले गठबन्धनविरुद्ध यसअघि पराजय भोगेका ओखेडालाई फेरि चुनावी मैदानमा उतार्ला कि अरु कसैलाई ? त्यो विस्तारै स्पष्ट हुँदै जानेछ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.