अत्तरिया : जनक शिक्षा सामग्री केन्द्र लिमिटेड प्रादेशिक कार्यालय धनगढीले हालसम्म सुदूरपश्चिममा १५ लाख ११ हजार थान पाठ्यपुस्तक बिक्री–वितरण गरेको जनाएको छ ।
नयाँ शैक्षिक सत्र ०८१ का लागि प्रदेशका नौवटै जिल्लामा स्थानीय पुस्तक बिक्रेतामार्फत केन्द्रले पुस्तक बिक्री–वितरण गरेको हो । उक्त पुस्तक बिक्री–वितरणबाट १८ करोडबराबरको कारोबार गरिएको जनक शिक्षा सामग्री केन्द्र लिमिटेड प्रादेशिक कार्यालय धनगढीका प्रमुख रामबहादुर कुँवरले जानकारी दिए । उनका अनुसार केन्द्रले आगामी शैक्षिक सत्र २०८१ का लागि प्रदेशभरि १९ लाख १५ हजार एक सय ८५ थान पाठ्यपुस्तक बिक्री–वितरण गर्ने लक्ष्य लिएको छ । प्रदेशका सबै जिल्लामा पाठ्यपुस्तक पुगिसकेको कार्यालय प्रमुख कुँवरले जानकारी दिए ।
‘सात पहाडी जिल्लाका सबै ठाउँमा पाठ्यपुस्तक पुगिसकेको छ । केही छुटेका ठाउँमा पनि शैक्षिक सत्र सुरु हुनुअगावै पाठ्यपुस्तक पु¥याउँछौँ,’ उनले भने, ‘हामीसँग पाठ्यपुस्तक पर्याप्त छ । कैलाली र कञ्चनपुरमा पनि अधिकांश ठाउँमा पाठ्यपुस्तक पुगिसकेको छ । बाँकी पाठ्यपुस्तक शैक्षिक सत्रअगावै पुग्छ ।’ केन्द्रले यही चैत १३ गतेदेखि पाठ्यपुस्तक बिक्री–वितरण सुरु गरेको थियो भने सबैभन्दा पहिले प्रदेशको विकट हिमाली जिल्ला बाजुरामा पाठ्यपुस्तक ढुवानी सुरु गरेको थियो ।
कक्षा १ देखि ४ सम्मका पाठ्यपुस्तक निजी क्षेत्रले बिक्री–वितरण गर्दै आएकामा आगामी शैक्षिक सत्रका लागि भने जनक शिक्षाले कक्षा तीन र चारको पाठ्यपुस्तक २० प्रतिशत छुटमा बिक्री–वितरण गरिरहेको कार्यालय प्रमुख कुँवरले जानकारी दिए । चालू शैक्षिक सत्रमा केन्द्रले यस प्रदेशमा कक्षा ६ देखि १२ सम्मका १७ लाख ४१ हजार थान पाठ्यपुस्तक बिक्री गरेको जनाइएको छ ।
सम्बन्धित पाेस्टहरु