अत्तरिया, ३ बैशाख : समाजमा भएका विभिन्न किसिमका विकृत क्रियाकलापहरु जडैबाट उखेल्न स्थानीय नागरीकको ठूलो भूमिका हुने ईलाका प्रहरी कार्यालय मालाखेती प्रहरी नायव उपरीक्षक गंगाबहादुर थापाले बताएका छन् ।
आईतबार प्रतिभा सामुदायिक पुस्तकालयले आयोजना गरेको शुभकामना आदाप्रदान कार्यक्रममा उनले प्रहरीले गर्ने क्रियाकलापमा स्थानीय नागरिकको पनि वास्तवमै महत्वपूर्ण भूमिका हुने बताए । ‘शान्ति सुरक्षा कायम गर्ने देखि लिएर अपराध रोकथाम नियन्त्रण गर्ने विभिन्न क्रियाकलापमा स्थानीयको अत्यन्त महत्वपूर्ण भूमिका हुन्छ ।’ अत्तरिया क्षेत्रमा बढ्दै गरेको लागूऔषध कारोबार, देहव्यापार, जुवातास लगायतको नकारात्मक क्रियाकलापको न्यूनीकरण गर्न प्रहरी निरन्तर लागी परेको बताए ।
यस क्षेत्रको मुख्य समस्या भनेको लागूऔषध दुव्र्यसन होटलमा यौनधन्दा, जुवातास जस्ता अनैतिक क्रियाकलाप रहेको बताए । उनले विशेष गरी अत्तरियामा रहेको लागूऔषध दुव्र्यसनको जटिल समस्या रहेको र यसको बारेमा कार्य गर्दै आईरहेको बताए । यस्ता क्रियाकलापको न्यूनीकरण गर्न प्रहरी लागि परेको बताए । उनले ईलाका प्रहरी कार्यालय मालाखेतीको थुनुवा कक्षमा लगभग ६० प्रतिशत थुनुवाहरु लागूऔषध कारोबारमा संग्लन रहेको साथै आफू आइसके पश्चात् पनि थप ३ जनालाई लागूऔषधमा पक्राउ गरिएको बताए ।
अत्तरिया क्षेत्रमा जुवातास खेल्ने खेलाउने समस्या पनि मुख्यरुपमा देखिएको समस्या राखेर जुवातास खेलाएपनि एक दिन अवश्य कानुनको दायरामा ल्याएरै छाड्नेमा उनले जोड दिए । उनले स्थानीय नागरिकले समेत आफ्नो क्षेत्रमा रहेका यस्ता नकारात्मक अनैतिक क्रियाकलापको प्रहरीलाई खबर गरेर सहयोग गरिदिन आग्रह गरे ।
सम्बन्धित पाेस्टहरु