विश्वासको मत पाउने कुरामा ढुक्क छु : मुख्यमन्त्री सोडारी

कञ्चनपुर : सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री दीर्घ सोडारीले आफूले छिट्टै विश्वासको मत पाउने बताएका छन् । शनिबार महेन्द्रनगरमा आयोजित अमर सहिद भीमदत्त पन्त स्मृति प्रष्ठिानको २३ औँ वार्षिक साधारण सभा तथा चौथो केन्द्रीय अधिवेशन उद्घाटन गर्दै उनले उक्त कुरा बताएका हुन् । ‘हिजो विश्वासको मत लिने कुरा थियो केही कारणवश स्थगित गरेँ, यस्तै छ कम्युनिस्टहरूको सबै जोडेर नि बहुमत पुग्दैन’, उनले भने, ‘सकस त छ, अलि बढी नै मिहेनत गर्नुपर्छ। सकस भएपनि विश्वासको मत पाउनेमा म विश्वस्त छु, छिट्टै विश्वासको मत पाउँछु।’

कर्णाली प्रदेशका पूर्व प्रदेश प्रमुख तथा अमर सहिद भीमदत्त पन्त स्मृति प्रतिष्ठानका संस्थापक अध्यक्ष गोविन्द कलौनीले प्रतिष्ठानको सदस्यता वितरणमा खुला बन्नुपर्ने बताए । ‘हामीले संस्था दर्ता गरेर सञ्चालन गरेको यत्रो वर्ष भयो तर सदस्यता वितरणमा ध्यान नदिएको मैले पाएँ। अब सदस्यता वितरणमा ध्यान दिनुहोस्’ कलौनीले भने ।

कार्यक्रममा पूर्व प्रदेशमन्त्री प्रकाश रावल, कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारी, प्रदेश सांसद हिरा सार्की, पूर्व उप–सभामुख भोजराज जोशी, पूर्व राष्ट्रिय सभा सदस्य इन्दु कडरीया, जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख चक्रराज जोशी लगायतको उपस्थिति रहेको थियो। कार्यक्रममा प्रतिष्ठानलाई सहयोग गर्ने कल्याण ओझा र गङ्गाराम गिरीलाई सम्मानित गरिएको थियो।

अमर सहिद भीमदत्त पन्त स्मृति प्रष्ठिानको २३ औँ वार्षिक साधारण सभा तथा चौथो केन्द्रीय अधिवेशनबाट हरिप्रसाद जोशीको अध्यक्षतामा कार्यसमिति चयन गरेको छ। निर्विरोध रूपमा निर्वाचित समितिको उपाध्यक्षमा नन्दा धामी, सचिवमा कर्णबहादुर चन्द, सह–सचिवमा धर्मा रोकाया र कोषाध्यक्षमा रामचन्द्र शाह निर्वाचित हुनुभएको छ। यस्तै सदस्यमा खगेश्वरी जोशी पनेरु, चन्द्रा अवस्थी, शारदा भट्ट र प्रदीप राना निर्वाचित भएका हुन।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.